नेपाली काँग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थान उत्साहवर्धक

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको जनाएको छ ।

उपनिर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेको काँग्रेसका महामन्त्री तथा स्थानीय तह उपनिर्वाचन समितिका संयोजक विश्वप्रकाश शर्मा उपनिर्वाचनले दिएको सन्देशबारे समीक्षा गर्ने बताएका छन्।

‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौं नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई, हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौं,’ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तीनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ’, शर्माले भनेका छन् ।

उनले भनेका छन्, ‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्वपूर्ण छ । यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ ।’ केही स्थान गुमाए पनि चुनावी रणनीतिका लागि यी नतिजा महत्त्वपूर्ण रहेको शर्माले बताएका छन् ।

उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति देखिएको भन्दै यसलाई चिर्नुपर्ने उनले बताए । ‘उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जीत्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ शर्माले भनेका छन्, ‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउन र सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सक्रिय भूमिका निभाउने युवा पंक्तिलाई पार्टी सम्मान गर्दछ।’

विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्ति

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *