अमूर्त सम्पदाहरू हाम्रो ठुलो सम्पत्ति हुन् : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले नेपाल अहिले तीव्र सहरीकरणबाट गुज्रिरहेको बताए । उनले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औँल्याए । उनले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरू नेपालको ठुलो सम्पत्ति भएको उल्लेख गरे । उनले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताए ।

विनाशकारी प्रभावहरू बढिरहेको उल्लेख गर्दै सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरूको खोजी आजको चुनौती रहेको रहेको समेत बताए । उपप्रधानमन्त्री सिंहले भने ‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनः संरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ । अर्कोतर्फ हालको वर्षहरूमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्नेगरी विनाशकारी प्रभावहरू बढेर गएका छन् ।

यस परिपेक्षमा हाम्रा सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरू खोजी गर्न आजको चुनौती रहेको छ । नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरू हाम्रो ठुलो सम्पत्ति हुन् । यिनले स्थानीय स्रोत साधन र सीपको समुचित उपयोग, रोजगारी सिर्जना र पर्यटकीय लाभसहित आवश्यक आर्थिक अवसरहरूको सिर्जना गर्दै आइरहेका छन् । तर अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेलमा पर्दै गएको देखिन्छ ।

नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरणसहितको दिगो बनाउनुपर्ने आवश्यकता महसुस गरेको छु । नेपाल अहिले तिब्रतर सहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । गाउँबाट मानिसहरू अवसरको खोजीमा सहरमा बसाइसराइ गर्ने प्रवृत्ति बढ्दो छ । विश्व परिवेशलाई हेर्दा सहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ ।’

योजनाबद्ध सहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भीर आर्थिक, सामाजिक र वातावरणीय असरहरू पर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *