सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

दमास्कस । कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ ।

उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् । सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे । दमास्कसबाट एएफपी टिभीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फाएर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् छन् भनी चिच्याइरहेको देख्न सकिन्छ ।

तस्वीरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्वीर लिइरहेको देखिएको छ । दमास्कसका बासिन्दा आमेर बाथाले एएफपीसँग फोनमा भने, ‘म विश्वास गर्न सक्दिनँ कि म यो क्षणको प्रत्यक्षदर्शी बनिरहेको छु । हामी यो दिनको लागि लामो समयदेखि पर्खिरहेका थियौँ’, उजले भने, ‘हामील सिरियाका लागि नयाँ इतिहास लेख्न सुरु गर्दैछौँ ।’

इस्लामिक हयात तहरीर अल–शाम (एचटीएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ । ‘बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र (जबर्जस्ती) विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दछौँ,’ विद्रोही समूहले टेलिग्राममा भनेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियामा भइरहेको ‘असाधारण घटना’लाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *