‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म हलमा प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद देखिएको छ ।

फिल्म पुष्पा-२ का कारण सिनेमा हलले पर्याप्त शो नदिएको भन्दै सोमबारबाट फिल्मको प्रदर्शन स्थगन हुने घोषणा गरेका थिए । उनीहरुले केही हलहरुले कर्नरिङ गरेपछि विद्रोह गर्न प्रदर्शन रोक्ने निर्णय गरिएको बताएका थिए । तर, निर्माताले ‘सारङ्गी’लाई हलबाट उतार्ने घोषणा गरे पनि वितरकले फिल्मको प्रदर्शन जारी राख्ने भएका छन् ।

फिल्मका दुई वितरक कम्पनी टी-फोक फिल्मस् र ब्याङ्कटेस इन्टरटेनमेन्टले सबै हलहरुलाई इमेल पठाउँदै योजनाअनुसार नै प्रदर्शन अगाडि बढाउन आग्रह गरेको छ । वितरकबाट इमेल प्राप्त भएसँगै हलहरुले सोमबारका लागि शो उपलब्ध गराएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ हलमा लाग्नुभन्दा अघि यसका निर्माता र वितरकबीच फिल्म प्रदर्शनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । जसको दोस्रो नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ ।

उक्त बुँदामा निर्माण कम्पनीले नेपाली हलहरुमा रिलिज गरेको मितिबाट ६ महिनाको लागि फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार वितरकमा निहित रहने उल्लेख छ । फिल्मको प्रदर्शनलाई निरन्तरता दिन वितरकले यसैलाई आधार बनाएर निरन्तरता दिने भएका हुन् ।

फिल्मले अहिलेसम्म ४५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *