विश्वमा नाम राख्ने गरी काम गर्छु- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन्।
झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने बताए। उनले भने, ‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन । हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईँहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईँहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए।