दुईदलीय व्यवस्थामा लैजाने काँग्रेस-एमालेको सोचलाई उपचुनावले खण्डित गर्यो -माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने काँग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दाबी गरेको छ ।
आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीको लागि उत्साहजनक भएको निष्कर्ष समेत निकालेको छ । स्थानीय चुनावको समीक्षा गर्दा सारमा उत्साहपूर्ण नतिजा आएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता अग्नी सापकोटाले बताए ।
उनले भने, ‘जनताले सबै नेता कार्यकर्तालाई अब सत्तातिर होइन, सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएका छन् । काँग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थातिर लैजाने सोचिरहेका थिए, त्यसलाई चुनावको नतिजाले खण्डित गरेको छ ।’ यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश रहेको माओवादीको ठहर छ ।
सरकार राम्रो काम गरिरहेका विद्युत् प्राधिकरण लगायत संस्थाहरूलाई अवरोध सिर्जना गरेर देशलाई अधोगतितर्फ धकेलेको सापकोटाले बताए । उपचुनावको नतिजाले सरकारलाई अन्य कुरामा पनि दबाबमा पारेको निष्कर्ष पार्टीले निकालेको सापकोटाले बताए । सरकारले भ्रष्टाचारलाई बढावा दिएको माओवादीको ठहर छ ।