अपराध गर्नेलाई अनुहार नहेरी कारबाही हुन्छ- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।
ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए । उनले भने, ‘आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं । देशको अवस्था सच्याउनु छ । गरिबीबाट माथि उठाउनु छ । देशलाई सुशासन दिनु छ । देशलाई भ्रष्टाचार मुक्त बनाउनु छ । मैले भनेको छु, ‘भ्रष्टहरूको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’
आज ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्था पनि बदलिएको र अवस्था पनि बदलिएको बताए । ‘अहिले काम पाइरहेका छन्, मान्छेहरू व्यवस्था बदलियो, अवस्था बदलिएन भन्छन् म भन्छु- व्यवस्था पनि बदलियो, अवस्था पनि बदलियो, पहिला केही काम पर्दा कोठाकोठा जानुपर्ने र फाइल अल्झिने झन्झट थियो तर अहिले त्यो अवस्था छैन, डिजिटलाइज सर्भिसमा पुगिसकेका छौँ ।’
उनले ललितपुर महानगरपालिका सांस्कृतिक शहर, धेरै विविधता भएको र लामो समयदेखि आफ्नै चाडपर्वले सुसज्जित शहर रहेको पनि बताए ।