धनराजका श्रीमतीले १४ करोड ८१ लाख सहकारीको रकम अपचलन गरेको देखिन्छ- सूर्य थापा
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले काँग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच सहकारी डिभोर्स भएको टिप्पणी गरेका छन्।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सम्बोधन गर्दै सहकारी ठगहरूलाई आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि कानूनको दायरामा ल्याउने बताए। उनले भने, ‘धनराज गुरुङको विषयमा हाम्रो अन्तिम समयतिर जानकारीमा आयो। त्यसपछि म स्थलगत निरीक्षणमा गएको, त्यसको अध्यक्षलाई ल्याएर सोधपुछ गरेको र उहाँको श्रीमती अमेरिकामा छन् ल्याएर अनुसन्धानको दायरमा ल्याउनुपर्छ। यो सहकारी सम्बन्धबिच्छेद भएको देखिन्छ। सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि डिभोर्स भएको देखिन्छ। त्यसैले धनराजमाथि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्न निर्देशन दिएका छौँ। उहाँले सिधै होइन। १४ करोड ८१ लाख उहाँको श्रीमतीले अपचलन गरेको, त्यो रकम बाहिर लगेको, त्यसबारेमा धनराजमाथि पनि सिआइबीले अनुसन्धान थालेको छ। कानून बमोजिम कारबाही गर्ला। उहाँले अनुसन्धानको दायरबाट बाहिर हुनुहुन्न।’
उनले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको बताए। आफू नेतृत्वको छानबिन समितिको प्रतिवेदन व्यक्ति केन्द्रित मात्रै नभएको दाबी गरे।