संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे
गण्डकी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् ।
अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातवटै प्रदेशका सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । संसद्को प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले दलहरूको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे ।
परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख घिमिरेले संघ र प्रदेशबीच राम्रो समन्वय हुनु जरुरी भएको बताए । संघबाट बनेका कानुनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै उनले अन्तर व्यवस्थापिका मञ्चका यस किसिमका सम्मेलनले समस्या समाधान गर्न मागदर्शन गर्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पञ्चराम गुरुङ, गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापालगायतले आ-आफ्नो धारणा राखेका थिए । सातवटै प्रदेशका सभामुख, उपसभामुख सम्मिलित उक्त सम्मेलन बुधबारसम्म चल्ने छ ।