हेटौँडा सिमेन्ट उद्योगले पुन: उत्पादन शुरु गर्दै
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
उद्योगको उपकरणमर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले दिएका हुन् । उपकरण मर्मत कार्य पुस १० गतेसम्ममा सकिने र त्यस लगत्तै उत्पादन गर्ने तयारी भइरहेको उनले बताए । उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको भण्डारीले बताए ।
उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात रहेको र थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनले बताए । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो। वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।