आजैबाट राष्ट्र बैंकको नियन्त्रणमा कर्णाली विकास बैंक, सेयरधनी र निक्षेपकर्ताले चिन्ता नलिनू

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल नेपाल राष्ट्र बैंकले आजैबाट टेकओभर गर्ने भएका छन् । केन्द्रीय बैंकले बाँकेको नेपालगञ्जमा रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेपछि नियन्त्रणमा लिइएको हो । राष्ट्र बैंकका उपनिर्देशक टीकाराम खतिवडाको नेतृत्वको ३ सदस्यिय व्यवस्थापन समूहले आजैबाट टेकओभर गर्नेछ । व्यवस्थापन समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य छन् । संयोजक खतिवडा बैंक तथा वित्तीय संस्था नियमन विभागको उपनिर्देशक हुन् । नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिएको छ । केन्द्रीय बैंकका प्रवक्ता रामु पौडेल भन्छन्, ‘कर्णालीमा संस्थागत सुशासनमा कमजोरी, पुँजी अभाव, निष्क्रिय कर्जामा वृद्धि जस्तामात्र समस्या नभएर केही आपराधिक कार्य पनि भएको देखियो । तसर्थ, प्रोएक्टिभ भएर निक्षेपकर्ताको हीत संरक्षण गर्न पनि टेकओभर गरिएको हो ।’ उनले निक्षेपकर्ताले शंका उपशंका गर्नु नपर्ने भन्दै निक्षेपकर्ताको रकम फिर्ता हुने पनि बताए । राष्ट्र बैंकको टिमले काम गरिसके पछि बैंक सबल बन्ने उनको भनाइ छ । विगतमा पनि समस्या फसेका बैंकलाई राष्ट्र बैंक गएर उद्दार गरेको भन्दै कर्णालीका निक्षेपकर्ता र लगानीकर्ता ढुक्क भएर बस्न आह्वान गरे । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको डुयल डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ । कर्णाली डेभलपमेन्ट बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न सकेको छैन । साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको जनाएको छ ।

कर्णालीले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो । गत असारको तथ्यांक अनुसार कर्णालीको कोर पुँजीअनुपात ५.२१ प्रशित र पुँजीकोष अनुपात ६.८६ प्रतिशत छ । यसैगरी कर्जा निक्षेप अनुपात ५७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ४.८१ प्रतिशत पुगेको थियो । यसैगरी कात्तिक मसान्तसम्म कर्णालीमा सर्वसाधारणले ५ अर्ब १८ करोड रुपैयाँ बराबरको निक्षेप राखेका छन् । बैंकबाट कुल ३ अर्ब ७० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । बैंकसँग १ अर्ब ६९ करोड रुपैयाँमात्र तरल सम्पत्ति छ । ५० करोड २८ लाख रुपैयाँ पुँजी भएको बैंकको रिजर्भमा करिब ४० करोड रुपैयाँ छ । तर, रिटेन्ड अर्निङ नै १ अर्ब १९ करोडले ऋणात्मक रहेको छ । स्थिति नाजुक भएपछि राष्ट्र बैंकले टेकओभर गरेको हो । यसअघि केन्द्रीय बैंकले नेपाल बैंक, एनबी बैंकजस्ता ठूला बैंकलाई टेकओभर गरी स्थिति सुधार गरिसकेको छ । कर्णालीमाथि राष्ट्र बैंकको टेकओभरले पनि बैंक सुध्रिने अपेक्षा गर्न सकिन्छ । यसअघि गत मंसिर दोस्रो साता राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेपछि धितोपत्रको दोस्रो बजार ९पुँजीबजार०मा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले राष्ट्र बैंकसहित, नेप्से र नेपाल धितोपत्र बोर्ड पनि बन्द छ । बुधबार कारोबार खुल्नुअघि नै कर्णालीको कारोबार रोक्का गर्ने गरी तयारी अघि बढाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *