राजनीतिको अपराधीकरण रोकौँ
राजनीतिमा सङ्गठित रूपले अपसंस्कृति भित्र्र्याउने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सङ्कटको भुमरीमा फसेको छ । अश्लीलता, आपराधिक मनोवृतीलाई राजनीतिक रङ्ग दिन माहिर रास्वपा सभापति लामिछानेको पद निलम्बनपछि आन्तरिक द्वन्द्वमा फसेको छ । यद्यपि, आफ्नो स्वार्थका निम्ति सो समूहको बचाउमा बोल्ने समूह र व्यक्तिको कमी छैन । तर प्रचलित कानुन, ऐन र नियमलाई पालना गर्ने हो भने लामिछाने अहिले लागेको अभियोगबाट उम्कने ठाउँ छैन । र, लामिछाने जेलमुक्त हुन सकेनन् भने उनको सामाजिक सञ्जालद्वारा निर्मित समूहको विघटन अवश्यम्भावी छ ।
सस्तो लोकप्रियताले आर्जन गरेको शक्ति दिगो हुँदैन भन्ने उदाहरण संसार भरिनै देख्न सकिन्छ । आपराधिक घटनालाई राजनीतिकरण गर्न माहिर रहेकाहरूले जनतालाई केही समय भ्रममा राख्न पनि सक्छन् तर त्यो भरपर्दो र स्थायी हुँदैन । अहिले नकारात्मक प्रवृत्ति बोकेर राजनीतिमा उदाएको आपराधिक तत्त्वको पनि कुनै भविष्य देखिँदैन । सिद्धान्तहीन जमातले आफ्ना प्रतिद्वन्द्वी र स्थापित शक्तिमाथि अश्लील गालीगलौज गरेर, पुराना र सढेगलेका, वृद्ध, अशक्त भनेर मजाकमा उडाए पनि तिनको नेतृत्वका कारण मात्र दलहरू समस्यामा फसेका हुन । तिनको जनाधार र जनविश्वासको जग भने अझै हल्लिएको छैन । सहकारी, ठगी, हुन्डी कारोबारी, विदेशमा समेत आपराधिक धन्धामा संलग्न रहेकाहरू, मानव बेचबिखनमा संलग्न धम्क्याएर पैसा उठाउने धन्धा गर्नेहरूलाई राजनीतिमा तान्ने घृष्टता सबै दलले विगतमा धेरथोर प्रयास गरेकै हुन । तर अहिले उदाएका नयाँ दलहरूको भने आधारै आपराधिक प्रकारको छ ।
राजनीतिमा प्रवेश गरेर आपराधिक चरित्र धुन सकिँदैन । हुन त अहिलेको विश्व राजनीतिको प्रवृत्ति पनि स्वच्छ, पारदर्शी र निष्ठापूर्वक समर्पणको होइन । महाशक्ति अमेरिकाको राष्ट्रपतिमा विजयी डोनाल्ड ट्रम्प समेत त्यस्ता थुप्रै उदाहरण छन् । जसले सारा दुनियाँको राजनीतिलाई प्रभाव पार्न सक्छन् नै आफ्नो देशमा दर्जनौँ आपराधिक मुद्दामा फसेका छन् । दक्षिणपुर्वी एसियाली मुलुकहरूलाई त लामो समयदेखि आपराधिक तत्त्वले प्रभावित पार्दै आएको इतिहास छ । द्वन्द्व, हिंसा र आतङ्कको चपेटामा परेका देशहरूले कुनै न कुनै रूपमा अपराधीहरूलाई राजनीतिमा स्थान दिने गरेका छन् । अथवा राजनीतिको नाममा अपराध र गैर कानुनी धन्धा चलाउनेहरूको बाहुल्य रहन्छ ।
अब लोकतन्त्र, पारदर्शिता र कानुनी राजको कुरा गर्नेहरूले व्यवहारमा पनि त्यस्तो चरित्र देखाउन जरुरी भएको छ । काँग्रेस, एमालेप्रति वितृष्णाका कारण राजनीतिमा आएर चौथो पार्टी बन्न सफल रास्वपाका सभापति रवि लामिछानेमाथि लागेका आरोपहरू र त्यस्तै अभियोगमा बर्षौ जेल बस्नेको कुरालाई लिएर तुलना गर्दा कानुनी राज र लोकतन्त्र ’हात्तीको देखाउने दाँत’ मात्र लाग्दैनन् र ? दुई वटा पासपोर्ट, दुईटा नागरिकताको केशमा अहिले कति जेलमा छन् र रविमाथि प्रधानमन्त्रीकै निर्देशनमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता कार्यालयले प्रमाणपत्र नै किन दिन्छ ? उपसभामुख जस्तै मानव बेचबिखनको धन्धा गर्ने अहिले कति जेलमा छन् तर उपसभामुख हाम्रो कानुनले विदेशमा सम्पत्ति राख्न छुट दिँदैन, अहिले राजनीतिक अधिकार नदिई ’एनआरएनए’का सदस्यलाई आर्थिक अधिकार प्राप्त गर्ने गरी छुट्टै परिचयपत्रको व्यवस्था गरेको छ तर सुरेन्द्र कुमार कार्की, सुमना श्रेष्ठहरूमाथि कानुन लाग्दैन ? तिनले आफ्नो सम्पत्ति विवरणमा भारत र पोल्यान्डमा सम्पत्ति भएको देखाएका छन् ।
अहिले रविको पार्टीमा साठी प्रतिशत बढी नेता आपराधिक पृष्ठभूमिका छन् र तिनले त्यो धन्धालाई निरन्तरता पनि दिइरहेका छन् । तिनले आफ्नो धन्धालाई निरन्तरता दिन नै राजनीतिमा प्रवेश गरेका छन् । नेपालमा कमिसन घुस खाएको पैसा अमेरिका पठाउने र हुन्डी मार्फत फेरि यता ल्याउने रवि र उनको दलको भविष्य अब के हुन्छ भन्ने भन्दा पनि सङ्गठित रूपमा भित्रिएको भ्रष्टाचार, कमिशनखोरी र आपराधिक घटनाले गाँजेको मुलुकको भविष्य के हुन्छ भन्ने चिन्ता ठुलो कुरा हो । यसलाई हेक्का राखौँ !