दक्षिण कोरिया विमान दुर्घटनामा उद्धार गरिएका २ बाहेक सबैको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ ।
विमानमा सवार १८१ जनामध्ये २ जना जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । योनहाप समाचार संस्थाका अनुसार उनीहरुलाई अस्पताल लगिएको छ । थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।