मेलमिलापको सान्दर्भिकता
नेपाली काँग्रेसको राजनीतिमा माइल स्टोन मानिएको राष्ट्रिय मेलमिलाप अहिले बिलकुलै छायामा परको छ । प्रजातन्त्रको लामो लडाइँको दौरानमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर राखेर बिपी कोइरालाले विक्रमसम्मत २०३३ साल पुष १६ गते र ८ वर्ष लामो स्वनिर्वासन त्यागेर एउटा मिसन सहित स्वदेश फर्किएको दिनलाई काँग्रेसले मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको थियो । प्रजातन्त्रको सङ्घर्षमा राष्ट्रियतालाई जोडने कडीको रूपमा मेलमिलाप दिवस काँग्रेसका लागि एउटा पवित्र पर्व थियो ।
राजासँग सङ्घर्ष मात्रै गर्दै प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले सशस्त्र सङ्घर्षसमेत गरेको काँग्रेसले राष्ट्रियता कमजोर भएको ठहर गरी राजा र जनताको साझा इफोर्टको रूपमा मेलमिलाप दिवसको उपादेयता ठानेको थियो । देशको अस्तित्व सार्वभौमसत्ता र अखण्डता जोगाउन राजा र जनता मिल्नु आवश्यक छ भने बिपीको कथन त्यस बेलाका लागि मात्र सान्दर्भिक थिएन बरु मुलुकभित्रको राजनीति, राष्ट्रियताको अवस्था, र राजनीतिक दलहरूको स्वार्थलाई हेर्दा आज पनि बिपीको मेलमिलाप उत्तिकै सान्दर्भिक छ भन्ने देखिन्छ । बिपीले अघि सारेको भएका कारणले मेलमिलापको त्यो अवधारणा काँग्रेसको हो । तर आज सिङ्गै राष्ट्रलाई त्यसको भाव धारामा डो¥याउनु पर्ने अवस्था छ । आज मुलुकमा राजतन्त्र छैन, राजा छैनन् तर द्वन्द्वको अवस्था कायमै छ । बिचमा केही समय माओवादीले विदेशी शक्तिको बुई चढेर राष्ट्रको अस्तित्वमा समाप्त गर्ने गरी हिंसात्मक द्वन्द्व चलायो । त्यसलाई शान्त गर्न पनि काँग्रेसले नै अग्रसरता लियो र त्यसको आधार पनि मेलमिलाप नै थियो । द्वन्द्व आज बहुआयमिक रूपमा बिस्तार भएको छ । यसलाई समन गर्न द्धन्द्धरत शक्तिहरू बिच मेलमिलाप जरुरी छ । द्वन्द्वकै अवस्थामा मुलुक गुज्रिरह्यो भने हाम्रो राष्ट्रियता कमजोर पर्ने मात्र होइन कि सङ्कटमै पनि फस्न सक्छ । तसर्थ, झन्डै आधा शताब्दी अघि प्रतिपादित मेलमिलापको नीतिको सान्दर्भिकता आज पनि उत्तिकै छ ।
यसलाई विगत केही वर्ष अघिसम्म नेपाली काँग्रेसले औपचारिक रूपमा मनाउँदै आएको थियो । तर केही वर्षदेखि त्यसमा पनि पूर्ण विराम लागेको छ । अहिले काँग्रेस मुलुकमा व्याप्त अपसंस्कृतिको प्रत्यक्ष प्रभावमा फसेको छ । सिद्धान्त, आदर्श, नीति कार्यक्रमलाई तिलाञ्जलि दिएर पार्टीलाई कमाइखाने भाँडो बनाउने काममा काँग्रेस नेताहरू लागि परेका छन् । तिनलाई पार्टी, राजनीति र आन्दोलनको प्रति खासै चासो नहुनु अनौठो होइन । काँग्रेसको नयाँ पुस्ताले बिपीलाई देउताको रूपमा बुझेका होलान् तर उनको त्याग, बलिदान र सङ्घर्ष बुझेका छैनन् । उनले प्रतिपादन गरेको सिद्धान्तको बारेमा जानकार छैनन् । यस्तोमा मेलमिलापको कुरा उठाउनु स्वयम काङ्ग्रेसभित्रै पनि मूर्खता बाहेक केही हुँदैन । यदि मेलमिलापलाई गाउँले प्रवृत्तिका कमल थापाले भने जस्तो काँग्रेसले छोड्यो भने पनि त्यसको औचित्य समाप्त हुँदैन । यसलाई नेपाली राजनीतिको एउटा अङ्गको रूपमा बुझ्नुपर्छ । बारम्बारको सङ्घर्ष र सहमतिबाट गुज्रिएको राजनीतिलाई स्थायित्व दिन गतिशील बनाउन, राष्ट्रियता र प्रजातन्त्रलाई पुनः परिभाषित गर्न र तदनुरूप लागु गर्न मेलमिलापको बाटोबाट नहिँडी सुखै छैन । तर राजनीतिक सिद्धान्त बिनाको यात्रा अन्धकार पूर्ण हुन्छ । मेलमिलापको नीति एउटा द्वन्द्व समन गर्ने र बहत्तर हितका लागि झिना मसिना असहमतिलाई थाँती राख्ने बाटो हो । अब यसलाई मुलुकको राजनीतिको मुलप्रवाहको लिडर दल नेपाली काँग्रेसले परित्याग गर्दै छ । त्यस्तो भयो भने राष्ट्र द्वन्द्वमा फस्ने, राष्ट्रियता थप सङ्कटमा पर्ने खतरा रहन्छ ।
काँग्रेसमा विचारशील नेताको अभाव खट्किएको छ । त्यसै गरी देशमा राजनेताको खाँचो देखिएको छ । गुट परिवार र पार्टीको घेरा तोडेर अघि बढ्न सक्ने नेता काँग्रेसमा जन्मन नसके अन्य पक्षबाट भए पनि जन्माउनु जरुरी छ । त्यो दायित्व अब समग्र रूपमा नेपाली राजनीतिक क्षेत्रको नै हो । मेलमिलापलाई औपचारिक रूपमा मनाए पनि नमनाए पनि सम्झिए पनि बिर्सिए पनि त्यसको औचित्य समाप्त भएको छैन ।