बझाङमा दुई जीप दुर्घटना, पाँचजनाको मृत्यु
काठमाडौं । बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् । बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मष्टाको कोटदेवलमा भएको जीप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापा छन् । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । जीपमा चालकबाहेक अन्य यात्रु थिएनन् । बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेनानजिक दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो।