शीतलहरको सङ्कट
चिसो मौसम उच्चतम बिन्दुमा पुगेका कारण नेपालको गर्मी भूभागको रूपमा परिचित तराई प्रदेशमा शितलहर चलेको छ । पूर्वपश्चिम राजमार्गमा बाक्लो हुस्सु लागेका कारण सडक यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ । मध्ये तराईमा शितलहरका कारण विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ । रौतहट, बारा, पर्सा समेत कैयौँ जिल्लामा विद्यालयहरू अनिश्चित कालका लागी बन्द गरिएका छन् । चिसोले कठ्याङ्ग्रिएर कैयौँको अवस्था गंभिर बन्ने र ज्यान जाने अवस्था यस पटक पनि दोहोरिदैँछ ।
जाडो मौसममा पहाडभन्दा तराईमा समस्या निक्कै कठिन हुने गरेको छ । चिसोको असर हिमाली जिल्ला र पहाडी भेगमा भन्दा तराईमा किन बढी देखिन्छ भन्ने कुरामा हाम्रो सरकार बेखबर छ । तापक्रममा हुने परिवर्तन मात्रै कारण होइन । तापक्रम परिवर्तन एउटा कारण मात्र हो । मान्छेको ज्यान जाने, पुरै इलाकामा समस्या देखिने अर्को कारण चाहिँ सामाजिक व्यवहार, रहनसहन र जीवन शैली हो । तराईमा गर्मी ज्यादा हुने भएकाले त्यहाँका बासिन्दाहरूले बाक्लो कपडा लगाउँदैनन् । जाडोको लागि न्याना लुगा कपडाको व्यवस्था पनि गर्दैनन् । घरमा ओढ्ने, ओछ्याउनेको व्यवस्था पनि हुँदैन । कम्बल, सिरक, डसना भएका घर अत्यन्त कम हुन्छन् । बिहान बेलुकी आगो ताप्ने, न्यानो कोठामा बस्ने हिटर बाल्ने सुविधा पनि हुँदैन । पुस–माघको ठिहीमा पनि एउटा डोरीको खाटमा एउटा तन्ना ओक्ष्याएर पातलो च्यादर ओढेर सुत्ने क्रम रोकिँदैन । अधिकांश ग्रामीण बस्तीमा खाना पकाउन गुइँठा नै प्रयोग हुन्छ । घर निकै सानो हुन्छ । र, सुत्ने ठाउँ घर बाहिरको खुल्ला आँगनमै हुन्छ । न्यानोका लागी चोकमा घुर ताप्ने बाहेक अन्य विकल्प हुँदैन, महिलाहरू सामूहिक रूपमा घुर ताप्न जाने परम्परा पनि छैन । यस्तै कारणले गर्दा शीत लहरको वेला तराईका धेरैजसो मध्यम वर्गीय र गरिबहरूको ज्यान जाने गर्छ ।
तर, पहाडमा ज्यामी कुल्ली मजदुर नै भए पनि, घर सानो नै भए पनि जाडोको लागी विशेष व्यवस्था हुन्छ । ज्याकेट, स्विटर किन्ने, सिरक, डसना र कम्बलको व्यवस्था गर्ने काम ऋणै खोजेर भए पनि हुन्छ । हिउँ पर्ने स्थानमा दाउरा, कोइलाको व्यवस्था गरेर आगो तापेर शरीरलाई न्यानो बनाउनु पर्छ भन्ने ज्ञान साना ठुला सबैलाई हुन्छ । गर्मी याममा समेत जाडै हुने हिमाली भेगमा पनि जाडोको लागि विशेष व्यवस्था गरिएको हुन्छ । यसरी तराई र पहाडको जीवनशैलीमै अन्तर हुन्छ । तराईमा गर्मीमा पनि लु लागेर मर्नेको सङ्ख्या बढी हुन्छ भने जाडोमा शीतलहरूका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि ठुलै हुन्छ ।
हुन त यो प्राकृतिक कारणले नै भएको हो भनेर पन्छाउन सकिन्छ तर तराईको जीवन शैली फेरेर यस समस्यालाई कम गर्न सकिन्छ । घरको आकार थोरै बढाएर घरभित्रै सुत्ने प्रबन्ध गर्ने, जाडोमा घरभित्र हिटर अथवा आगो ताप्ने व्यवस्था गर्ने, न्याना लाउने कपडा र ओढ्ने ओछ्याउने नभई जाडा कट्दैन भन्ने चेतना हर कोहीमा जागृत गर्ने हो भने तराईमा जाडोले मर्ने मानिस हुँदै हुँदैनन् । अहिले युवा पुस्ता अध्ययन र रोजगारीका लागी संसार घुमेका छन् । तिनले तराईको जीवन शैली त्यागेर स्थान र मौसम अनुसारका फेशनमा आफूलाई अभ्यस्त गराएका छन् । आफ्ना छोरा छोरीको बदलिएको जविन शैलीबाट अभिभावकहरूले सिक्न नसक्नुलाई चाहिँ विडम्बना मान्नुपर्छ । पहाडको भन्दा बढी नै आम्दानी हुनेहरू पनि पातलो धोती र कुर्तामा नै रमाउनुको कारण भौगोलिक नै हो । तर गर्मी स्थान भनेर मात्र हुँदैन मौसम बाह्रै महिना एकनास हुँदैन भन्ने ज्ञान पनि तिनमा अवश्य नै छ तर चेतनाले तिनलाई आवश्यकता अनुरूप किन डोर्याउदैन त्यो चाहिँ बुझी नसक्नु छ । सरकारले जाडो मौसम सुरु हुने वेला र गर्मी मौसमको सुरुवातमा मोबाइलको रिङ टोनमा, टिभी रेडियोको समाचारको वेला यस्ता कुरामा चेतना जगाउने गरी विज्ञापन बजाएर, गाउँपालिका, नगरपालिकाले गाउँ टोलमा चेतना जागृत गर्न अभियान सञ्चालन गरेर मात्रै पनि यो समस्यालाई न्यून गर्न सक्छ । यतातिर जिम्मेवारीपूर्वक सोच विचार गरिनु आवश्यक छ । केवल दुईचार वटा कम्बल बाँडेर दायित्वमुक्त हुने प्रवृत्ति जिम्मेवार निकायले त्याग्नुपर्छ ।