पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका पुरुषलाई उनकै मृत्युको प्रमाणपत्र

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक सेवाग्राहीलाई उनकै मृत्यु प्रमाणपत्र बनाएर दिएको पाइएको छ । उत्तर प्रदेशको हरदोई जिल्लामा पर्ने कोथावां विकास खण्डको अटावा गाउँ निवासी विश्वनाथकी पत्नीको १९ डिसेम्बर २०२४ मा निधन भएको थियो । विश्वनाथका अनुसार उनी पत्नीको मृत्यु प्रमाणपत्र बनाउन ग्राम पञ्चायत पुगेका थिए । ग्राम पञ्चायत सचिव सरिता देवीले विश्वनाथलाई विभिन्न बहानामा झुलाउँदै आएकी थिइन् । केही दिनपछि सचिव सरितादेवीले आफूसँग दुई हजार रुपैयाँ घुस मागेको विश्वनाथको दाबी छ । आफूले पैसा नदिएपछि जनवरी ३ का दिन सचिव सरितादेवीले प्रमाणपत्र आफूलाई दिएको तर त्यो आफ्नै मृत्युको प्रमाणपत्र रहेको उनले बताए । यसबारे विश्वनाथले जिल्लाधिकारीसमक्ष उजुरी गरेको र आरोपित ग्राम पञ्चायत सचिव सरितादेवीलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *