स्कटल्याण्डसँग नेपाल पराजित
काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले स्कटल्यान्डसँग पराजित भएको छ ।
जितका लागि ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य पुरा गर्यो । एक समय जित नजिक पुगेको नेपाल खराब फिल्डिङका कारण पराजित हुन पुग्यो । स्कटल्यान्डको जितमा पिप्पा स्प्रुलले सर्वाधिक ३५ रन बनाइन् । गेब्रिएला फन्टेनला १२ रनमा नटआउट रहिन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।