कोलम्बियाले आप्रवासी बोकेका विमान अवतरण गर्न दिने
काठमाडौँ । कोलम्बियाले अमेरिकाको प्रतिबन्ध लगाउने घोषणा पछि आप्रवासी बोकेका विमान अवतरण गर्न दिने भएको छ ।
ह्वाइटहाउसले विज्ञप्ति जारी गर्दै कोलम्बियाले अमेरिकाले पठाउने आप्रवासी बोकेको विमान अवतरण गर्न स्वीकृति दिने सहमति भएको जनाएको हो । यसअघि अमेरिकाले पठाएका अवैध आप्रवासी बोकेका विमानलाई अवतरण गर्न अनुमति नदिएपछि आक्रोशित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाविरुद्ध शुल्क, भिसा प्रतिबन्ध र अन्य प्रतिशोधात्मक प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । सहमति पछि अमेरिकाले यस अघि घोषणा गरिएका सबै प्रतिबन्ध होल्डमा राखिएको ह्वाइटहाउसले जनाएको छ ।
अमेरिकाको प्रतिबन्धपछि कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सम्मान गर्ने प्रोटोकल नबनाएसम्म संयुक्त राज्य अमेरिकाबाट निर्वासित आप्रवासीहरू बोकेका उडानहरू आफ्नो सरकारले स्वीकार नगर्ने बताएका थिए । पेट्रोले आप्रवासीहरू अपराधी होइनन् भन्दै उनीहरूलाई त्यही सम्मानका साथ व्यवहार गरिनुपर्ने बताएका थिए ।
तर अमेरिकाको कडा प्रतिबन्धपछि उनी आफ्नो अडानबाट पछि हट्दै अमेरिकाले फिर्ता पठाएका आप्रवासीलाई स्वीकार गर्ने भएका छन् ।