सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरूले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन् । उनले भने, ‘सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण छ । यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ ।
यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।’ उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताएका छन् । उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरूलाई उद्यम क्षेत्रमा प्रबेश गर्न महत्त्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन् । काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘यो श्रेणीमा आउन मलाइ ४० वर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र वित्तीय संस्थाले सहज रूपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरू भइरहेका छन । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।’ त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरू आवद्ध छन् । देशभर लाखौं उद्यमीहरूलाई यसमा जोड्न भूमिका खेलेको अध्यक्ष ज्ञवालीले बताइन् । बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन् । उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन ।’ उनले सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएकोसमेत बताएका छन् ।