६० घण्टाभित्रै चोरी भयो ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गरिएको कार
लण्डन । बेलायतमा ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गर्दै बिक्री गरिएको एक लक्जरी एसयूभी बिक्री भएको ६० घण्टाभित्र नै चोरी भएको छ । वार्क विकसायरका ४५ वर्षीय जोनले गत डिसेम्बर १४ मा कोभेन्ट्रीको डिलरसिपबाट २ लाख २७ हजार डलर (करिब ३ करोड १८ लाख रुपैयाँ) मा रेन्ज रोभरको एसभी संस्करण किनेका थिए । यो लक्जरी एसयूभी बेलायतमा ५५० वटा युनिटमात्र रिलिज गरिएको छ । यसमा १० हजार पाउण्ड पर्ने ग्राफाइट चक्का, आरमदायी उच्च प्रविधियुक्त इन्टेरियरजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् । जोनलाई यस्तो कार किन्दा धेरैको आँखा खिच्ने डर थियो किनभने पछिल्लो समय त्यहाँ महँगा गाडी चोरीका घटनाहरूमा वृद्धि भइरहेको छ । तर, डिलरले उक्त कारमा ‘जागुअर ल्याण्ड रोभर (जेएलआर)’ सुरक्षा व्यवस्था रहेको र यसलाई कसैले पनि चोर्न नसक्ने दाबी गरेका थिए । तर, गाडी किनेको ६० घण्टाभन्दा कम समयमा उनको घर अगाडिबाटै सो गाडी चोरी भएको थियो । ‘यति धेरै पैसा हालेर किनेको कारलाई डिलरका स्टाफहरूले सुरक्षित र चोर्न नसक्ने बताएपछि म ढुक्क थिएँ,’ जोनले पत्रकारहरूसँग भने, ‘मैले गाडीलाई स्टार्ट गर्न पासवर्ड चाहिने घोस्ट इमोबिलाइजर सिस्टम राखिदिन उनीहरूलाई आग्रह पनि गरेको थिएँ । तर, कार चोरी नै हुन नसक्ने दाबी गर्दै यो आवश्यक नभएको बताएका थिए । चोरहरूले सिसा नै नफुटाई कसरी गाडी चोर्न सफल भए भन्ने कुराले सबैलाई आश्चर्यचकित बनाएको छ । जोनले कम्पनीलाई उनीहरूको सुरक्षा प्रणालीको असफलताबारे उजुरी गरिसकेका छन् । तर, कम्पनीका एक प्रवक्ताले भने उनको उजुरीबारे केही नहुने र कार चोरीको जोखिम त्यसको मालिकमा निहित हुने स्पष्ट पारेका छन् । (अडिटी सेन्ट्रल