पाथीभरा मन्दिर क्षेत्रलाई रण मैदान बनाउने काम कुन स्वार्थी समूहको हो ?
बिर्तामोड । पाथीभरा मन्दिर पवित्र तीर्थस्थल स्थानीय जनताको पहिचानको रूपमा सयौँ वर्षदेखि स्थापित रहेको एउटा साझा आस्थाको केन्द्र हो । जसको आफ्नै मौलिक विशेषता र इतिहास पनि छ । यो स्थान आज एउटा धरोहर, पहिचान र ब्रान्ड बन्नुमा स्थानीयको प्रमुख योगदान र अपनत्व रहेको कुरा हामी कसैले पनि बिर्सनु हुन्न । त्यसैले स्थानियबासीलाई पन्छाएर कुनै पनि विकास र पूर्वाधार निर्माण गरेर स्थानीयको अपनत्व रहेको एउटा ब्राण्डको फाइदा तेस्रो पक्ष या सरोकारवाला भन्दा बाहिरको कसैले पनि लगानी गरेर नाफा कुम्ल्याउन उद्देश्य मात्रै राख्नु उचित कदापि हुँदैन ।
लगानी गरेर फाइदा निकाल्नु नै छ भने, हाम्रो देशमा त्यस्ता धेरै नचिनिएका र सम्भावना बोकेका अनगिन्ती ठाउँहरू छन् जहाँ पूर्वाधार विकास गरेर उक्त ठाउँको नयाँ पहिचान दिएर नाफा पनि कमाउन सकिन्छ र ठाउँको पनि कायापलट गर्न सकिन्छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नु भन्दा अन्य आवश्यक पूर्वाधार निर्माणमा सम्बन्धित सरोकारवाला पक्षको ध्यान जाओस् । यदि स्थानीय जनताको सहमतिमा बनाउनै परे पनि व्यक्तिगत लगानीमा होइन, उक्त क्षेत्रको सर्वाङ्गीण विकास हुने गरी, लगानीका लागि स्थानीय जनतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ र त्यस बापत आउने नाफाको हिस्सा उक्त क्षेत्रकै थप विकासमा खर्च गरिनु पर्छ ।
तर कुनै व्यक्ती या समूह विशेषले मात्र नाफा कमाउने भाँडो पाथीभरा जस्तो पवित्र स्थललाई बनाउनु महामूर्खता ठहरिने छ । यसको लागि राजनैतिक र व्यापारिक उध्येश्यबाट प्रभावित नरहने गरी राज्यको संरक्षणमा ट्रस्ट स्थापना गरेर अघि बढाउन सक्ने विकल्प पनि उचित हुन सक्छ त्यो पनि उक्त क्षेत्रको मौलिकता नमासीकन अन्य आवश्यक पूर्वाधार समेत समेटेर स्थानीयको आर्थिक र सांस्कृतिक हितमा हुने गरी काम गर्नु सबैभन्दा बुद्धिमत्तापूर्ण हुनेछ । पाथीभरा मन्दिर क्षेत्रलाई रण मैदान बनाउने काम कुन स्वार्थी समूहको हो ? बेलैमा चिनेर सम्पुर्ण नेपालीहरुले भण्डाफोर गरौं ।