अधिवक्ता त्रिपाठीलाई कुटेको आरोपमा ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको हो ।
प्रतिवादीमध्ये जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेका समेत खुलेको छ । जैसीले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका छन् । अर्का प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका छन् । मेरो ग्रेट गंगासागर सहकारीमा आफूले जम्मा गरेको २१ लाख रुपैयाँ बचत फिर्ता नभएको उनले बताएका छन् । जसकारण सहकारीको नाम सुन्नासाथ आफू आक्रोशित हुने गरेको भन्दै केसीले प्रहरीसमक्ष बयान दिएका छन् । अर्का प्रतिवादी राईले भने आफू कुनै पनि संघसंस्था तथा पार्टीमा आबद्ध नरहेको बताएकी छिन् । राईले पनि त्रिपाठीमाथि कुनै हातपात नगरेको दाबी गरेकी छन् । मुलकी फौजदारी अपराध संहिताको दफा १८३ मा ज्यान मार्ने उद्योगको कसुर गर्न नहुने उल्लेख छ । यो कसुर गर्नेलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।