‘एमबीएल इक्विटी फण्ड’ सेबोनबाट स्वीकृत, १२ करोड युनिट सेयर निष्कासन हुने

नेपाल धितोपत्र बोर्ड (सेबोन(ले ‘एमबीएल इक्विटी फण्ड’ लाई स्वीकृति प्रदान गरेको छ। माघ २०, २०८१ मा स्वीकृत गरिएको उक्त योजना १.२० अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फण्ड हो। यस फण्ड अन्तर्गत प्रति युनिट १० रुपैयाँ अंकित मूल्यमा १२ करोड युनिट सेयर निष्कासन गरिनेछ। फण्डको प्रवर्द्धक माछापुच्छ्रे बैंक लिमिटेड रहेको छ भने व्यवस्थापकको भूमिका माछापुच्छ्रे क्यापिटल लिमिटेड ले निर्वाह गर्नेछ।

फण्ड स्वीकृतिका लागि प्रस्ताव असोज २१, २०८१ मा सेबोनमा पेश गरिएको थियो। स्वीकृत भएसँगै अब निष्कासन प्रक्रिया अघि बढ्नेछ। बन्दमुखी म्युचुअल फण्ड भएका कारण, यो सेयर प्राथमिक बजारमा बिक्री भएपछि निश्चित समयसम्म लगानीकर्ताले दोस्रो बजारमा मात्र खरिद,बिक्री गर्न सक्नेछन्। यस्तो फण्डले विभिन्न धितोपत्र, सेयर, बन्ड तथा अन्य लगानीमार्फत आम लगानीकर्तालाई प्रतिफल दिन प्रयास गर्नेछ।

नेपालको पूँजी बजारमा पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। नयाँ योजनाहरूले लगानीकर्तालाई विविध लगानी अवसर प्रदान गर्दै बजारको विस्तारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। एमबीएल इक्विटी फण्ड ले समेत लगानीकर्ताका लागि नयाँ अवसर ल्याउने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *