प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्छ- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आइटी र प्रविधिको प्रयोग गर्छौँ । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तीव्रता दिन्छौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्ने पनि बताए । ‘हामीले आफ्नो मनोबललाई उच्च राखौँ । हामी गर्न सक्छौँ । कुनै पनि देश अर्काले आएर बनाइदिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाडि बढ्न सक्ने उनले बताए । ‘हामीले प्रयोग गर्ने ल्याकत अलिकति विकास गर्नुपर्छ । मोबाइल सबैको हातमा छ, मोबाइलको कसरी प्रयोग गर्ने भन्ने मात्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।