क्रेस्ट माइक्रोले फागुन २२ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।