प्रकृतिलाई ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका ७६ वर्षका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारीघाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो । करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिएर १२ बजेपछि बाहिर निकालिएको थियो ।

शवयात्रामा आफन्तसँगै उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो । २०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । प्रकृतिको परिवारले घटनाको छानबिन गरी दोषीलाई कार्बाही गर्न माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *