बेलैमा चेत खुलोस्
काठमाडौँ । म्याद गुज्रिएको सांसदलाई राजाले पुनर्स्थापित गरिदिएको संसद्मा ८२ जना टिके सांसद थपेर राजासँग गरेको सम्झौता विपरीत ल्याएको धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामको यो व्यवस्थालाई माकुराका बच्चाले आफ्नै जननीलाई खाए जस्तै यसै व्यवस्थाका सन्तानहरूको भ्रष्ट आचरणले समाप्तिको अवस्थामा पुर्याएको छ ।
यसको दुष्परिणाम चाहिँ देश र जनताले भोग्नु पर्नेछ । देशलाई यसरी सङ्कटमा पारेर विकराल अवस्थामा पुर्याएको बेलामा आफ्नो आयुको उत्तरार्ध कालको अवस्थालाई समेत बेवास्ता गर्दै निरन्तर जनताका घरदैलोमा पुग्ने काम राजाबाट मात्रै भइरहेको छ । राजालाई थाहा छ आजको विश्व परिस्थितिमा हाम्रो जस्तो भूराजनीतिक र भू-सामरिक अवस्था भएको देशमा देश भित्रबाट सङ्कटको समाधान खोज्न सकिएन भने विदेशी पस्ने निश्चित छ। आजको स्थिति र वातावरणमा एउटा विदेशी पसेपछि अर्को सम्बन्ध र स्वार्थ जोडिएको शक्ति पनि चुप लागेर बस्दैन भन्ने कुरा प्रस्ट छ । त्यस अवस्थामा देश लेबनान, सिरिया जस्तै अन्तर्राष्ट्रिय द्वन्द्वमा फस्न सक्छ । यही सम्भावित सङ्कटबाट जोगाउन राजाले समग्र परिस्थिति र जनभावना बुझेर एकता र मेलमिलापका लागि सबै पक्ष र जनतामा आह्वान गरेको होला र देश रहे मात्रै राजा, प्रधानमन्त्री, मन्त्री हुने नहुने सम्भावना रहन्छ ।
त्यसैले आउँदै गरेको सङ्कटबाट देशलाई बचाउने प्रयत्नमा लाग्नु सबैको प्रथम कर्तव्य हो भन्ने राजाको सन्देशले प्रस्ट परेको छ । तर राजाले मेलमिलापको प्रस्ताव राख्दा थुन्नु पर्छ, रछानमा पुर्याइएको र चुनाव लड्न चुनौती वा सल्लाह दिनेहरूले के बुझ्न जरुरी छ भने देश बचे मात्रै यी सबै गर्न सकिन्छ । देशलाई यो अवस्थामा पुर्याउनेहरु माथि निर्मम कारबाही हुनुपर्छ भन्ने माग चारैतिरबाट उठिरहेको बेलामा राजाबाट मेलमिलाप र एकताको आह्वान आउनुलाई अवसरका रूपमा लिनुको सट्टा हट गर्नेलाई इतिहासले निर्मम दण्ड दिने गर्छ ।