साहित्य परिवर्तनको संवाहक हो- सञ्चार मन्त्री
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले साहित्य परिवर्तनको संवाहक रहेको बताएका छन् ।
‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरु भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए । भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चार मन्त्री गुरुङले बताए । उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए ।
“यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चार मन्त्री गुरुङले भने, “यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।” उनले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताए ।