तपाईंकै मान्छेले डुबाए किसुनजी !
सन्दर्भ : सन्तनेता कृष्ण्प्रसाद भट्टराईको १४औँ वार्षिक स्मृति दिवस
आज पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक, सिंगो नेपाली राजनीतिमा सन्तनेताका नामबाट सम्मानित, प्रजातान्त्रिक आन्दोलनका महानायक कृष्णप्रसाद भट्टराई (किसुनजी) को १४औँ वार्षिक स्मृति दिवस हो ।
किसुनजीले आफ्नो जीवन सिंगो राष्ट्र र कांग्रेसका लागि समर्पित गर्नुभयो । तर दुर्भाग्य, किसुनजीलाई न राष्ट्रले स्मरण गर्छ, न किसुनजीले स्थापना गरेको राजनीतिक दल कांग्रेसले नै सम्मान गर्छ । देशको वर्तमान राजनीतिले राष्ट्रको नायकको सम्मान गर्दैन, राष्ट्रिय विभूतिहरूको यहाँ चर्चा हुँदैन । यहाँ केवल खलनायकहरूको सम्मान गरिन्छ, देश लुट्नेहरू पुरष्कृत हुन्छन् । राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहलाई तिरस्कार गरिन्छ । राष्ट्र र प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पित गरेका महानायकहरू बिपी, गणेशमान र किसुनजीहरूको अपमान गरिन्छ । राष्ट्रनायकहरू अभिशप्त हुने र देशद्रोही, भ्रष्ट र अपराधीहरू पुरस्कृत हुने राष्ट्र कुनै पनि दिन संकटमा पर्न सक्छ । लाग्छ, भ्रष्ट कुशासकहरूको हातमा देश परेका कारण नेपाल त्यसै दुःखद नियतितर्फ उन्मुख भइरहेको छ ।
नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईजस्ता राष्ट्रप्रेमको भावनाले ओतप्रोत, स्वच्छ छवि भएका इमानदार, सादगी एवम् सिद्धान्तनिष्ठ महान् नेता थिए भन्ने कुरा अहिलेको पुस्ताका लागि काल्पनिक कथा लाग्न सक्छ । किसुनजीमा मानवीय कमजोरी थिएन भन्ने होइन । उहाँ पनि आममानिसबाटै माथि उठेको व्यक्ति हुनुहुन्थ्यो । किसुनजीका पनि नेता बिपी र गणेशमानपछि किसुनजीको उचाइको अर्को नेता समकालीन नेपाली राजनीतिमा अहिलेसम्म जन्मिएको छैन ।
आध्यात्मिक गुरु आनन्द अरुणको शब्दमा भन्ने हो भने ‘द्वापर युगमा भगवान् कृष्णको निधनपछि कलियुग प्रारम्भ भयो भने नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईको निर्वाचनमा पराजयपछि कलियुग प्रारम्भ भयो ।’ निश्चय नै नेपाली राजनीतिको आजको यो कुरूपता ०४८ र ०५० मा तत्कालीन काठमाडौं क्षेत्र नं. १ मा किसुनजीको पराजयको परिणाम हो भन्दा अन्यथा हुँदैन र नेपाली राजनीति बिग्रिनुको प्रस्थानविन्दु त्यही हो । किसुनजीको महाप्रस्थानको १४ वर्षपछि आज नेपाली राजनीतिमा घोर कलियुग व्याप्त छ भन्दा फरक पर्दैन । त्यसैले त आज सिंगो देश संकटको डिलमा उभिएको छ ।
राजनेता किशुनजीलाई समकालीन मूलधारको राजनीति र स्वयं उहाँले स्थापना गरेको दल नेपाली कांग्रेसले यथोचित सम्मान र आदर गर्दैन भन्नेमा सन्देह रहेन । राज्य र कांग्रेस दुवैले किसुनजीको योगदानको कदर गर्ने, यथोचित आदर गर्ने र उहाँको विचार र जीवनबाट केही नसिके पनि देशको ऐतिहासिक राजनीतिक दल कांग्रेस स्थापना गर्न किसुनजीले खेलेको अहं भूमिका, ००७ सालको जनक्रान्तिमा नेतृत्वदायी भूमिका, निरंकुश पञ्चायती व्यवस्था खारेज गरेर बहुदलीय व्यवस्था पुनस्र्थापना गर्नमा कुशल एवं साहसपूर्ण नेतृत्व, ०४६ सालको जनआन्दोलनको सफलतापछि कठिन संक्रमणकालमा पनि सात महिनामा नेपाल अधिराज्यको संविधान- २०४७ जारी गरी अत्यन्त चुनौतीपूर्ण अवस्थामा एक वर्षभित्र शान्तिपूर्ण बाटोबाट संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरी सत्ता हस्तान्तरण गरेर प्रजातन्त्रको जग बसाल्न उहाँले पुर्याएको अद्वितीय योगदान आमजनताले कहिल्यै भुल्नेछैनन् ।
गत वर्ष किसुनजीको जन्म–शताब्दी वर्ष परेको थियो । किसुनजीको लिगेसी समातेर ५ वर्ष प्रधानमन्त्री बनेका, पार्टी फुटाएर पनि पुनः सिंगो कांग्रेसको दुईपटक सभापति बन्ने सौभाग्य पाएका शेरबहादुर देउवाले किसुनजी जन्म–शताब्दीमा वर्षभर अनेक सिर्जनात्मक कार्यक्रम आयोजना गर्न सक्थे । तर, उनले त्यसो गरेनन् । बाँडेगाउँ, ललितपुरस्थित सन्तनेता कृष्णप्रसाद भट्टराई आश्रम पुगेर ‘मेरो गुरु’ भन्दै सालिकमा माथा ठोक्नेहरूले पनि आफ्ना नेतालाई किसुनजीको जन्म–शताब्दी वर्ष मनाउन अभिप्रेरित गरेनन् भने किसुनजीसँग कुनै राजनीतिक संगत नभएका पार्टी नेतृत्वमा जमेर बसेका युवा पुस्ताबाट केही भएन भनेर गुनासो गर्नुको औचित्य छैन ।
८ असोज ०६४ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबिचको एकता महासमिति उद्घाटनमा किसुनजी स्वयं उपस्थित हुनुभयो । तर, जब एकतापछि भोलिपल्ट पार्टीले लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय लियो, त्यसपछि उहाँले महासमितिसमक्ष आफ्नै हस्तलिखित पत्र पठाएर पार्टीबाट अलग भएको घोषणा गर्नुभयो । ‘लामो कालदेखि विभाजित स्थितिमा रहेको हाम्रो प्यारो संस्था कांग्रेस एक भएकामा मलाई ठुलो खुसी लागेको छ, जुन कारणले गर्दा हिजो एकीकरणको सम्मेलन (एकता महासमिति बैठक) मा आफ्नो शारीरिक आयुजन्य अक्षमतालाई एकछिनका लागि बिर्सेर पनि म त्यहाँ लामो समयसम्म उपस्थित थिएँ र आफ्नो हार्दिक समर्थन पनि गरेको थिएँ । संघीय लोकतान्त्रिक गणतन्त्रको लामो तर पूर्णतया निरर्थक नाम दिएर यस ऐतिहासिक संस्थाले हाम्रा देशका दुई सार्वकालिक स्वर्गीय बिपी कोइराला र गणेशमान सिंहलाई चटक्कै बिर्सिएझैँ छ । त्यसो हुनाले यस पार्टीसँग अबउप्रान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहनेछैन । तपाईं सबै सहयोगी साथीहरूसँग अब मैले भारी मन लिएर सधैँका लागि बिदा लिएको छु ।’ भनेर महासमिति बैठकलाई एउटा पत्र पठाएर कांग्रेस पार्टीसँगको सम्बन्ध छोडिसकेका नेतालाई कांग्रेसले सम्मान गरेन भनेर गुनासो गर्नुको औचित्य छैन । किसुनजीको विचार बोक्न नसक्ने, किसुनजीको जीवनबाट केही नसिक्ने कांग्रेस पार्टीले किसुनजीलाई सम्झने र सम्मान गर्ने नैतिक एवं वैधानिक हैसियत गुमाइसकेको छ ।
वर्तमान नेपाली राजनीति किसुनजीलाई अनादर गरेर अगाडि बढेको राजनीति हो । प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गरेको दाबी गरेर कहिल्यै नथाक्ने कांग्रेसले आफ्ना ‘फाउन्डिङ प्रिन्सिपल’, बिपीको विचार र चिन्तन, उहाँले नेपाली राजनीतिको लागि देखाएको मार्गनिर्देश ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ र स्वयं किसुनजीको विचार र आदर्शलाई तिलाञ्जली दिएर अगाडि बढेको राजनीति हो । नेतृत्वसँग असहमतिकै कारण पार्टीको अर्का संस्थापक सर्वोच्च नेता गणेशमान सिंहले किसुनजीले भन्दा पहिल्यै कांग्रेस परित्याग गरिसक्नुभएको थियो । बिपी बाँचिरहेको भए कि त कांग्रेसलाई अहिलेको बाटोमा जान दिनुहुने थिएन, अन्यथा उहाँले पनि पार्टी परित्याग गरेर किसुनजीले जस्तै अलग भएर बस्नुपर्ने अवस्था रहन्थ्यो भन्ने अनुमान गर्न गाह्रो छैन ।
७९ वर्षको इतिहासमा सबैभन्दा लामो समय लगातार झन्डै २० वर्षसम्म कांग्रेसको नेतृत्व किसुनजीले नै सम्हाल्नुभएको हो । त्यसबिचमा नेपाल अधिराज्यको संविधान २०४७ उहाँकै नेतृत्वमा बन्यो । उहाँले आफ्नै जीवनमा अनाहकमा त्यो संविधान च्यातिएको देख्नुपर्यो । देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा किसुनजीको मन कुँडिएको थियो । आफूसमेत उपस्थित भएको महासमिति बैठकले देशलाई जबर्जस्ती नेपाल निर्माण गर्ने शक्ति राजसंस्थालाई खारेज गरेर गणतन्त्र घोषणा गरेपछि किसुनजी आफैले स्थापना गरेको पार्टी नै परित्याग गर्न विवश हुनुभयो । उहाँले पार्टी परित्याग गर्नुभयो, तर आफ्नो विचार, सिद्धान्त अनि त्यसप्रतिको निष्ठालाई कहिल्यै छोड्नुभएन ।
बिपी कोइराला र किसुनजीबिच कतिपय राजनीतिक मुद्दामा कुरा मिल्दैनथ्यो । ०२५ सालमा सुवर्णशमशेरको वक्तव्यलाई समर्थन गरेर बिपी जेलबाट रिहा हुनुभयो, तर किसुजीले त्यसो गर्न स्वीकार गर्नुभएन । उहाँ अरू दुई वर्ष जेलमै रहनुभयो । ०२५ सालमा जेलबाट रिहा भएपछि बिपी, गणेशमानलगायत कतिपय नेता भारत स्वनिर्वासनमा जानुभयो, तर किसुनजी ०२६ को चैतमा रिहा भए पनि भारत नगई देशभित्रै बसेर प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाइरहनुभयो । बिपी भारतमा बसेर निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र क्रान्ति सञ्चालन गरिरहँदा देशभित्रै बसेर किसुनजीले शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहनुभयो ।
राजनीतिक विचार र शैलीका हिसाबले बिपीको किसुनजीप्रति कुरा नमिले पनि बिपीको सबैभन्दा विश्वास र भरोसायोग्य साथी किसुनजी नै हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि ऐतिहासिक घटनाक्रमले गर्छ । किसुनजीको व्यक्तिगत क्षमता र गुणलाई राम्रोसँग बुझ्नुभएका बिपीले विश्वास र भरोसाकै कारण पार्टीमा किसुनजीभन्दा वरिष्ठ नेता तमाम हुँदाहुँदै पनि ०३४ मा किसुनजीलाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभयो ।
०२५ मा जेलबाट रिहा हुँदै गर्दा गणेशमान सिंहले गहभरि आँसु पार्दै ‘किसुनजी, कांग्रेसको जिम्मेवारी अब तपाईंको काँधमा छ’ भन्नुभएको थियो । नभन्दै बिपी र गणेशमान सिंहको विश्वास र भरोसा जितेर किसुनजीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभयो ।
आज बिपी कोइरालाले सबैभन्दा भरोसा गरेको र किसुनजीले विश्वास गरेको व्यक्ति विगत तीन दशकभन्दा लामो समयदेखि राष्ट्रिय राजनीतिमा रजगज गरेर बसेका छन् । पाँचपटक प्रधानमन्त्री भए, छैटौँपटक हुन व्यग्र प्रतीक्षा गरेर बसेका छन् । पार्टीलाई फुटाएर पनि विगत आठ वर्षदेखि सिंगो कांग्रेसको नेतृत्व गरिरहेका छन्, तर त्यही कांग्रेस भने इतिहासकै दयनीय दौरबाट गुज्रिरहेको छ । यसतर्फ नेतृत्व तहमा रहनेहरूमा कुनै गम्भीरता देखिन्न ।
देशको राजनीति मात्र होइन, सिंगो देश नै संकटनिकट खडा भएकोमा कमैको विमति होला । बिपी र किसुनजीले देशको आजको राजनीतिक संकटलाई उसै वेला महसुस गरेर नै स्पष्ट राजनीतिक मार्गचित्र कोरिदिनुभएको थियो । तर, उहाँहरूको जीवनपछि कांग्रेसले त्यो मार्गचित्रलाई छाडेर, विचार र सिद्धान्तको पर्वाह नराखी केवल सत्ताको राजनीति गरेकै कारण आज देश र कांग्रेस दुवै संकटको डिलमा आइपुगेका हुन् ।
तर, यो निकट देखिएको राष्ट्रिय संकटलाई महसुस गर्ने र त्यो सम्भावित संकट टारेर देशमा राजनीतिक निकास दिन सक्ने सामथ्र्य भएको राजनेता कांग्रेसमा मात्र होइन, राष्ट्रिय राजनीतिमै छैन । केवल कम्युनिस्टको मुख ताकेर बस्दै १७ महिना कहिले बित्ला र प्रधानमन्त्री बनौँला भन्ने ध्येयले मात्र न देश बचाउन सकिन्छ, न आफ्नै पार्टीलाई ।
हामीबाट गल्ती भएको छ, हामीबाट भुल भएको छ । अब राजनीतिक ‘रोड करेक्सन’मा जानैपर्छ भन्ने पार्टी र यसको नेतृत्वमा ‘रियलाइजेसन’ नभएसम्म राजनीतिक सुधार र सम्भावनाको ढोका खुल्दैन । किसुनजी र बिपीलाई सम्झेर, उहाँको विचार र चिन्तनलाई स्मरण गर्दै देशभक्तिको भावनाबाट केही प्रयास गरे हुने हो । तर खोइ, किसुनजी, तपाईंका मान्छेले गर्दैनन् ।
किसुनजीको आत्मा जहाँ रहे पनि हे भगवान्, यो पुण्य आत्मालाई आफ्नो चरणमा स्थान देऊ !