एडीबीद्वारा नेपालका लागि चार वर्षे रणनीति कार्ययोजना प्रस्तुत
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम) नेपालले आयोजना गरेको कार्यक्रममा एडीबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ । जसमा समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीनवटा रणनीति रहेका छन् । उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवर्द्धन र वातावरणीय दिगोपन तथा जलवायु सहनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिरआर थापाले जानकारी दिए । नेपालमा एडीबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ । जसमा कुल ४.३ अर्ब डलर लगानी भएको छ । ती परियोजनामार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ । त्यसअवसरमा एडीबी नेपालका लागि आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा अमेरिकी दूतावासका आर्थिक तथा व्यापारिक अधिकृत ड्यारिन क्रिस्टेन्सेनले एमच्याम नेपालद्वारा आयोजना गरिएको यो शृंखलाले अमेरिकी कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न उत्प्रेरित गर्ने बताए ।
एडीबी र विश्व बैंक समूहका परियोजनाहरूले नेपालका सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने भन्दै उनले यी संस्थाहरूको उपस्थितिलाई प्रशंसा गरे । नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रमुख वाणिज्य अधिकृत सिआओबिङ फेङले नेपाली तथा अमेरिकी व्यवसायीहरूलाई आपसी साझेदारीमा जोड्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले नेपाली कम्पनीहरूलाई सेलेक्ट ‘यूएसए’ कार्यक्रममा सहभागी गराउन प्रोत्साहित गर्ने जानकारी गराए । एमच्याम नेपालका महाप्रबन्धक थापाले स्वागत मन्त्व्य राख्दै नेपाललाई व्यापार र लगानीको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले एमच्याममले अमेरिकी व्यवसाय समुदाय र नेपाल सरकारबीचको पुलको काम गरिरहेको बताए । यसमार्फत उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, र नेपाल–अमेरिका द्विपक्षीय व्यापार सशक्त बनाउन योगदान पुर्याउनेमा उनले विश्वास व्यक्त गरे ।