सुयोग्य साकोसद्वारा १८औं स्थापना दिवसमा सदस्य सम्मान कार्यक्रम

काठमाण्डौ । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा ‘सुयोग्य सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष टेक बहादुर लिम्बुको अध्यक्षता तथा पूर्वसांसद एंव समाजसेवी सुजिता शाक्यको प्रमुख आथित्यतामा सो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति शाक्यले संस्थाले समाजमा रचनात्मक कार्यहरु गर्दै सदस्यहरुलाई सुरक्षित वित्तीय सेवा प्रदान गर्नु सबल पक्ष भएको बताइन् । संस्थाले सदस्यहरुलाई पुँजी उपलब्ध गराई औपचारिक तथा अनौपचारिक रुपमा रोजगारी सृजना गर्न उल्लेख्य भूमिका खेल्नु सकारात्मक पक्ष भएको उनले बताइन् । अग्रजहरुले गरेको योगदानको कारण स्वतन्त्र रुपमा जनता संगठित भएर अगाडि बढ्न पाएको उल्लेख गर्दै उनले सहकारीले उद्यमशीलता विकास र उत्पादन वृद्धिको क्षेत्रमा काम गर्नु पर्ने बताइन् । सहकारीमा जम्मा भएको पुँजीलाई परिचालन गरी स्वदेशमा नै केही गर्ने वातावरण सृजना गर्नुपर्नेमा उनको जोड छ । ‘स्वेदशमा केही पनि हुँदैन र धन आर्जन गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ’, उनले भनिन् ‘स्वदेशमा व्यवसाय गरेर जीविको पार्जन मात्रै होइन राम्रै प्रगति गर्न सकिन्छ । त्यसका लागि सदस्यहरुलाई जागरुक गराउन सहकारीहरु लाग्नुपर्छ ।’ संविधानले अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको चर्चा गर्दै शाक्यले केही व्यक्तिले गलत गरेको कारण सहकारी क्षेत्र बदनाम् हुन गएको जनाइन् । पछिल्लो समय समाजमा सहकारीप्रति गलत भाष्य विकास भएको भन्दै उनले त्यसलाई चिर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । संसदमा आज सहकारी अध्यादेश पेश हुने र ऐन पास भएपछि सहकारी क्षेत्रका धेरै समस्या समाधान हुने उनको विश्वास छ । यस क्षेत्रको चुनौतीलाई समाधान गर्दै समाजमा पु¥याएको योेगदानलाई उजागर गर्न आवश्यक रहेको समेत उनले बताइन् । संस्थाकी प्रमुख सल्लाहकार चित्र कुमारी थाम्सुहाङ सुब्बाले संस्था यहाँसम्म आइपुग्न सञ्चालक समिति र कर्मचारीको अथक मेहनतका साथै शेयर सदस्यहरुको विश्वास र भरोसा मुख्य रहेको बताइन् । आज सम्मान गरिएका ५ जना सदस्यले आफु मात्र नभई नातागोता र टोलछिमेकमा चिनेजानेका सबैलाई संस्था राम्रो छ भनेर सन्देश प्रवाह गरेको उनले उल्लेख गरिन् । पछिल्लो समय घरपरिवार, चिया पसल, सडक र सदनसम्म सहकारीका समस्याको कुरा उठिराखेको भए पनि समुदाय र सदस्य केन्द्रीत सहकारीमा कुनै समस्या नभएको उनको भनाई छ । सदस्यको लागि खुलेका संस्थाहरु जस्तो सुकै परिस्थितिमा समेत टिकिरहने भन्दै सुब्बाले सुयोग्यमा सदस्यहरुले विश्वास गरेर नियमित कारोबार गर्नुका साथै ऋण असुली पनि नियमित रुपमा भइराखेको जनाइन् । सहकारी मुल्य, मान्यता र सिद्धान्त बाहिर गएर सञ्चालन भएका केही सहकारी संस्थाले सदस्यहरुको बचत अपचलन गरेको भन्दै उनले सदस्यका लागि खुलेका सहकारी सधै सुरक्षित रहने बताइन् । बाराही, गौतमश्री जस्ता केही ठुला सहकारीले सदस्यको बचतलाई नीजि व्यवसायमा लगानी गर्दा समस्या आएको र ती संस्थालाई हेरेर सबै सहकारी ठग हुन् भन्नु गलत भएको उनको धारणा छ । सदस्यहरुलाई सुयोग्यमा आएर संस्थाले गरेको हरेको गतिविधिको निगरानी राख्न र आवश्यक सल्लाह तथा सुझाव दिन उनको आग्रह छ । सदस्यले दिएको सुझावलाई कार्यान्वयन गर्न संस्था तयार रहेको उनले बताइन् । ‘उत्कृष्ट एवं दिगो सेवाको लागि सुयोग्य’ भन्ने भिजन संस्थाको रहेको र सोही अनुसार सदस्यलाई उत्कृष्ट सेवा दिने उनको भनाई छ । संस्थाले यस बर्षबाट सुयोग्य सम्मान कार्यक्रमको थालनी गरेको प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले बताए । २०६४ साल फागुन २१ गते स्थानीय २७ जना शेयर सदस्यहरुको अग्रसरतामा २ लाख ७० हजार शेयर पुँजीबाट संस्था सुरु भएको उनले बताए । स्थापनाकालदेखि नै मितव्ययीरुपमा संस्था सञ्चालन गरेकाले निरन्तर संस्था नाफामा रहेको उनले बताए । संस्थाले समुदाय र सदस्य केन्द्रीत भएर वित्तीय कारोबार गरेकाले सहकारी क्षेत्रमा आएको वित्तीय संकटको बेलामा पनि सदस्यको विश्वास नगुमेको उनले जनाए । सदस्यबाट संकलन भएको पुँजीलाई सदस्य माझ परिचालन गरी उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्थाले सघाउँदै आएको उनको भनाई छ । संस्था सदस्यप्रति समर्पित भएको र वार्षिक रुपमा सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए । संस्थाको शेयर पुँजी ३ करोड १० लाख, १ हजार ६ सय शेयर सदस्य, जगेडा कोष ७ प्रतिशत माथि अर्थात २ करोड ५८ लाखको हाराहारीमा रहेको छ । संस्थाको कुल सम्पत्ति ३७ करोड रहेको र निकट भविष्यमा नै जगेडा कोष १० प्रतिशत पुर्‍याउने लक्ष्यका साथ लागि परेको उनले जनाए । सदस्यहरुलाई हरेक बर्ष संरक्षित पुँजी फिर्ता कोषबाट रकम फिर्ता गर्नुका साथै बचत ऋणसँगै मृत्यु राहत, घातक रोग उपचार खर्च, जेष्ठ सदस्य सम्मान र बाल सदस्यलाई जन्म दिनमा केक उपहार दिने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *