एउटै खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयन गर्दै एक व्यक्तिको एउटै खाताबाट एकै प्रकृतिको (डेबिट, क्रेडिट वा प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बुधबार भुक्तानी सेवा प्रदायक तथा अनुमतिप्राप्त सबै वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको हो। निर्देशनअनुसार, अबदेखि प्राकृतिक व्यक्तिको एउटै खाताबाट पूरक कार्ड जारी गर्न पाइने छैन। तर, डोमेस्टिक कार्ड योजनाअन्तर्गत जारी गरिने कार्डहरू यस व्यवस्थाको दायरामा नपर्ने जनाइएको छ। यसअघि पनि पूरक कार्ड जारी गर्न नपाइने व्यवस्था रहे पनि नयाँ परिपत्रले थप कडाइ गरिएको हो।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्डको शुल्क, कारोबार सीमा, ब्याजदर, तथा अन्य सुविधासम्बन्धी सूचनामूलक सामग्री अनिवार्य रूपमा प्रदान गर्नुपर्ने व्यवस्थालाई भने हटाएको छ। परिपत्रमा विद्युतीय भुक्तानी कार्डमार्फत गरिने कारोबारको सेटलमेन्ट नेपालमै गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। नेपालमा नेपाली रुपैयाँमा हुने कारोबारको फछ्र्यौट अन्तर्राष्ट्रिय स्वीचमार्फत गर्न परेमा आवश्यक जमानत वा बन्ड नेपाली रुपैयाँमै जारी गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक हुने व्यवस्था समेत परिपत्रमा समावेश गरिएको छ। सो सेवा बन्द गर्न कम्तीमा छ महिनादेखि सञ्चालन नभएको हुनुपर्ने र उक्त क्षेत्रमा पाँच किलोमिटर वरपर अन्य बैंकिङ सुविधा उपलब्ध हुनुपर्ने शर्त तोकिएको छ। नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा हुने अनावश्यक कार्ड प्रवृत्तिलाई रोक्दै डिजिटल कारोबारलाई थप पारदर्शी बनाउने राष्ट्र बैंकले विश्वास लिएको छ।