किन बढ्दै छ अराजकता ?
प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अभिव्यक्ति शैलीको बेलाबखत चर्चा हुने गर्छ । प्रम ओली एउटा जिम्मेवार राजनेताको हैसियतमा प्रस्तुत हुनेतर्फ कहिल्यै विचार गर्दैनन् । चाहे उनी पदमा हुन वा नहुन ।
प्रधानमन्त्री नहुँदा पनि गैर जिम्मेवार बन्नु, जे पायो त्यही बोल्नु, विपक्षीलाई होच्याउनु, मानमर्दन गर्नु उनको विशेषता मानिन्थ्यो । त्यो प्रवृत्ति राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्दा समेत यथावत् रह्यो । जिम्मेवार व्यक्ति भएर गैर जिम्मेवार अभिव्यक्ति दिनु ओलीको पहिचान नै हो । शिक्षा, शिक्षक, कर्मचारी आदिका सन्दर्भमा प्रधानमन्त्रीको हैसियतमा सार्वजनिक रूपमा दिइएका अभिव्यक्तिका कारण ओली बारम्बार आलोचित बन्ने गरेका छन् । ओली मात्र होइन पछिल्लो कालखण्डमा जिम्मेवार पदमा रहेर गैर जिम्मेवार व्यवहार गर्ने र मनपरी बोल्ने प्रवृत्ति अत्यन्त मौलाएको छ । ओलीकै हाराहारीमा जे मुखमा आयो त्यही बोल्ने नेतामा पर्छन् पूर्व प्रधानमन्त्री तथा माओवादी नेता पुष्पकमल दाहाल । दाहाल र ओलीको ओली सुन्दा ती यो मुलुकका प्रधानमन्त्री भैसकेका व्यक्ति हुन भनेर पत्याउन समेत मुस्किल पर्छ ।
माधव नेपाल, झालनाथ खनाल पनि धेरै पछि चाहिँ छैनन् । उनीहरू आफू को हुँ, कुन जिम्मेवारीमा छु भन्ने ख्यालै नगरी अभिव्यक्ति दिन्छन् । त्यसले व्यक्तिको हैसियत, व्यक्तित्व र छविलाई मात्र प्रभावित पार्दैन सँगसँगै पदको मर्यादा र गरिमालाई पनि ध्वस्त पार्छ । पछिल्लो कालखण्डमा नेता, नेतृत्व, सांसद, मन्त्री अथवा कुनै पनि जिम्मेवारीमा रहेकाहरूको सम्मान नरहनुमा यही गैर जिम्मेवार प्रवृत्ति दोषी छ । अब यो प्रवृत्ति बिस्तारै तलतिर विस्तारित हुँदै छ । पार्टीका नेता, प्रदेश सांसद र मन्त्री, नगरपालिका र गाउँपालिकाका निर्वाचित प्रतिनिधि पनि यो रोगबाट गंभिर रूपले ग्रसित छन् । काठमाडौँ महानगरका प्रमुख, धरानका प्रमुखले त बेलाबेलामा सीमा नै नाघ्ने गरेका छन् । तिनले विधि, पद्धति, ऐन कानुन, न्यायालय केहीलाई पनि आफ्नो स्वार्थभन्दा तल राख्ने गरेका छन् ।
राज्य संयन्त्र र जनप्रतिनिधिको त्यो गैर जिम्मेवारी पूर्ण व्यवहारको असर अब आम सर्वसाधारणमा पर्न थालेको छ । सभा समारोहमा प्रधानमन्त्री मन्त्रीमाथि अभद्र व्यवहार गर्नु, रङ्गशालामा भइरहेको खेलकुद प्रतियोगिता बिथोल्नु, अभद्र व्यवहार देखाउनुको कारण पनि मुलुकमा मौलाउँदै गएको उछृंखलता, उद्दण्डता र अराजकताको प्रतिविम्ब हो । यो प्रवृत्तिले मुलुकलाई रसातलमा पुर्याउन सक्छ । समाजमा देखिने त्यस्ता घटना र सोसल मिडियामा आउने अश्लील र भद्दा गालीगलौज पनि नेताहरूकै अनुकरण हो । नेताहरूले आफूलाई सुधार्ने, सच्याउने तर्फ पटक्कै विचार पुर्याएको देखिँदैन । ओली र व्यवहारमा सुधार गर्नु पर्छ । जनताले पत्याउने गरी काम गर्ने तत्परता देखाउनु पर्छ भन्ने महसुस नै नगर्ने वर्तमान नेतृत्वकै कारण आजको अराजकता मौलाउन पुगेको हो । नेतृत्वले गरेको गल्तीको परिणाम पार्टी र कार्यकर्ताले मात्र भोग्नु पर्ने होइन बरु राष्ट्रले नै सङ्कटको सामना गर्नुपर्ने अवस्था आउँछ । जिम्मेवार व्यक्ति गैर उत्तरदायी, अराजक, गालीगलौज प्रिय भए पनि त्यसलाई सच्याउन सधैँ तत्पर रहनुपर्ने तप्का बौद्धिक जमात एउटा राम्रो विकल्प हुन सक्थ्यो । तर हामीकहाँ त्यस्तो विकल्प पनि देखिएन । कथित सामाजिक अभियन्ताको छुद्र र लज्जास्पद अभिव्यक्ति व्यवहार, बुद्धिजीवी भनिनेहरूका भद्दा प्रस्तुतिले पनि निराश बनाउने नै काम गरेका छन् ।
अब बौद्धिक जगतको हात कमजोर भएपछिको अन्तिम विकल्प भनेको नेतृत्व स्वयमले आत्म समीक्षा गर्नु र गल्तीलाई सच्याएर अघि बढ्नु नै हो । कमसेकम राजनीति गर्ने र नेतृत्वमा पुग्नेहरूलाई आफूलाई संस्कार युक्त रूपमा प्रस्तुत गर्ने हो भने बाँकी कुरा सहजै सुध्रने स्थिति आउँथ्यो । त्यतातिर हाम्रो नेतृत्वले विचार पुर्याओस् ।