बिश्वको बदलिँदो महाशक्ति ध्रुबिकरण: विगत र भविष्य
मलाई धेरै वर्ष देखि अचम्म लागिरहेको थियो कि अमेरिकाले आफूलाई विश्वको एक मात्र महाशक्ति राष्ट्र कायम गर्न कम्युनिजमको सफाया गर्न मै आफ्नो ठुलै श्रोत र शक्ति खर्च गरिरहेको अवस्थामा नेपालमा चैँ राम्रै जना धार स्थापित गरी कसरी कम्युनिस्ट नाम राखेका २ दर्जन भन्दा धेरै पार्टीहरू अस्तित्वमा छन् होला भनेर । तर वास्तविकता अर्कै रहेछ।
दोस्रो विश्वयुद्ध पश्चात् करिब ६८ वर्ष (सन १९५७) देखि ‘डीप स्टेट’ (विश्व नियन्त्रण गर्ने स्थायी र गुप्त छायौँ सरकार) जसका ४ वटा अङ्ग: फन्डिङ (फाइनान्स), जासुसी (ईन्टेलिजेन्स), गुप्त लगानी (इन्भेस्टमेन्ट) र मिडिया परिचालन (मिडिया) योजना अन्तर्गत ‘सिआईए’, ‘युएसएआईडी’ र हातहतियार सिन्डिकेटका माफिया, खनिज र प्राकृतिक सम्पदाका अदृश्य लगानीकर्ताहरूको सञ्जाल र सहकार्यमा विश्वका विभिन्न मुलुकमा (विशेष गरी कमजोर मुलुक) असली कम्युनिस्टहरू खतम पार्ने या पाखा लगाउने उद्देश्यले विभिन्न मुलुकमा नक्कली ८०० भन्दा बढी कम्युनिस्ट नामका पार्टीहरू खोल्दै फन्डिङ्ग गर्दै आएको रहेछ। पार्टीको नाम (ट्रेड मार्क) चैँ कम्युनिस्ट हुन्छ तर सिद्धान्त विपरीत नीति अनि व्यवहार चैँ भ्रष्टाचार, फुट, गुट गर्दै मिसन पूरा गर्नु हो । जसको निरन्तरताको लागि ‘आईएनजिओ’, ‘एनजिओ’ र मिडिया लगायत धेरै आफ्ना सञ्जालहरूलाई पनि फन्डिङ गर्दै आएको रहेछ। त्यही भएर कुनै पनि मुलुकमा असली कम्युनिस्ट पार्टीहरूको उदय भयो कि कुनै न कुनै षडयन्त्रबाट सफाया गरिँदो रहेछ।
मुलुकको अवस्था होस् या व्यवस्था परिवर्तन गर्न न त सडकमा आन्दोलन गरेर हुन्छ न त जङ्गलमा पसेर बन्दुक बोकेर हुन्छ। परिवर्तन तब हुन्छ जब ‘डिप स्टेट’को मिसन भित्र पर्दछ। ‘डिप स्टेट’को सञ्जाल भित्र बेलायत, जर्मनी लगायत दर्जन भन्दा बढी शक्तिशाली मुलुकहरूको जासुसी संस्था र नब्बेको दशक पछि भारतको ‘र’ सँगको धेरै वटा संयुक्त मिसनहरू थिए भनिन्छ। ‘डिप स्टेट’ संयन्त्रको सञ्जाल निकै शक्तिशाली र खतरनाक पनि छ भनिन्छ। उनीहरूको अजेण्डा भन्दा कोही पनि बाहिर गयो कि खलास नै पार्ने रहेछन्। आफ्नै मुलुकको राष्ट्रपति जोन एफ केनेडीलाई पनि उनीहरूको अजेण्डालाई स्थान नदिएको कारणले हत्या गरिएको भन्ने कुराको कागजात धेरै पछि सतहमा आयो। यसै गरी इन्दिरा गान्धी, पोल पोट, राजीव गान्धी लगायत दर्जनौँ नेताको हत्या देखि पाकिस्तानका राष्ट्रपति जियाउल हक देखि ग्वाटेमालाका राष्ट्रपति लगायत कैयन नेताहरूको ‘ब्ल्याक बक्स’ पनि भेटिने नगरी गराइएको विमान दुर्घटनाहरू हुन्। कसलाई सत्तामा पुर्याउने र कसलाई सफाया गर्ने सबै मिसन अनुरूप नै हुने गर्दछ।
कम्युनिस्टहरूलाई देखी नसहने र सफाया नै गर्ने अभियान चलाइरहेको अमेरिकाले नै आफ्नै नागरिक बब अवाकियनको अगुवाइमा क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरी कम्युनिस्टहरूकै अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘रिम’को स्थापना गरिएको रहेछ, जसको काम भनेकै असली कम्युनिजमलाई निस्तेज पार्नु र अस्थिरता पैदा गराइरहनु हो। इरान, अफगानिस्तान, मङ्गोलिया, कम्बोडिया, लाओस, भियतनाम, यमन लगायत दर्जन बढी एसियाली मुलुक, बुल्गेरिया, एल्बानिया, ग्रिस, मल्दोभा, रोमानिया, अर्मेनिया, हङ्गेरी, पोल्यान्ड, लगायत दर्जन भन्दा बढी युरोपेली मुलुक, समालिया, इथियोपिया, कङ्गो, एङ्गोला, मोजाम्बिक, लगायत धेरै अफ़्रिकि मुलुकहरू र केही दक्षिण अमेरिकी मुलुकहरूमा मिसनले खोलेका ४०० भन्दा बढी सङ्ख्याका कम्युनिस्ट पार्टीहरू मिसनको अन्त्य भएपछि विभिन्न कालखण्डमा विघटन भइसकेका छन्।
नेपालमा राजा महेन्द्रको मृत्यु, मदन भण्डारी हत्या काण्डदेखि दरबार हत्या काण्डसम्मका रहस्य कसै गरे पनि पत्ता लाग्दैन जब सम्म कुनै दिन ‘डिप स्टेट’को दस्ताबेज सतह बाहिर आउँदैन। दोस्रो विश्वयुद्ध पश्चात् उब्जिएको राजनैतिक परिदृश्यमा विभिन्न उद्देश्य र फाइदाको मिसन राखी सञ्चालन भएको ‘डिप स्टेट’को सञ्जाल कमजोर मुलुकलाई सधैँ कमजोर र अस्थिर राखी रहने, क्रान्तिका नाममा विखण्डन, अराजकता, दण्डहीनता, युद्ध, गृहयुद्ध र हत्याकाण्ड गराई रहने र असफल राज्य सम्म बनाउने रणनीतिले लामो समय (६८ वर्ष) सम्म एकातिर अमेरिकालाई फाइदा भन्दा पनि झनै नकारात्मक प्रतिफल प्राप्त हुँदै जानु अर्कातिर अमेरिकी करदाताको ठुलो बजेट रकम यस्ता वाहियात कुरामा खर्च हुँदै गर्दा अमेरिकी हितमा नरहेको र अमेरिकाको अर्थतन्त्र नै टाट पल्टने अवस्थामा पुग्ने भएपछि खुलेको चेत अनुरूप नै ट्रम्प सरकारले कदम चालेको हो। ‘डिप स्टेट’को संयन्त्रलाई आमूल परिवर्तन गर्दै आफ्नो मुलुकको अर्थतन्त्र उकास्ने नीति अवलम्बन गर्नु पर्ने बाध्यकारी परिस्थिति पैदा भएको हुँदा यसैको फलस्वरूप कार्यभार सम्हालेको महिना दिन भित्रै सयौँ निर्णयहरू गरे।
यसरी खरबौँ खरब डलर खर्च र लगानी गर्दै आएको अमेरिकाले अब फन्डिङ बन्द मात्र होइन, उसले गठन गरेका र सहयोग गरेका पार्टीहरूको विघटन, कारबाही र असुली पनि गर्ने तयारीमा छ। असुली बाटै आफ्नो गिरेको अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने रणनीति सुरु गरेको देखिन्छ। यसै गरी अहिले राजनैतिक, सामाजिक, आर्थिक र प्रविधिका हिसाबले दोश्रो विश्वयुद्ध पश्चताको अवस्था पनि छैन र अर्थतन्त्रको हिसाबले विश्वमा एउटा मात्र महाशक्ति रहने अवस्था पनि छैन र पुरानो संयन्त्रहरू पनि पुरै परिवर्तन भई सकेका छन्। ‘डिप स्टेट’ मिसनको महत्त्वपूर्ण साझेदार मिडिया हाउसहरूको सूचना र समाचारको नियन्त्रण आंफुसँग मात्र रहने भन्ने दिन सकिए अब। फ्युचर साइन्टिस्ट एल्विन टफ्लरले ५० वर्ष अघि नै भनेका थिए कि नयाँ मिलेनियमको सुरुआत सँगै नियन्त्रित सूचना सञ्चारको सम्प्रेषणको विधि र माध्यम बदलिनेछ। सेल्फ पब्लिकेशन (आम सर्वसाधारण सबैले आफै सूचना सम्प्रेषण गर्न सकिने सामाजिक सञ्जाल), ब्लिप कल्चर र न्युरो इलेकट्रोन युग सुरु हुनेछ अनि आफू नियन्त्रित सूचनाको पकड राख्ने मिडिया हाउसहरूको पतन हुनेछ।
नेपालमा ९९% जनतालाई विगत लामो समय देखि दिग्भ्रमित पार्दै आएका मिडिया आफ्नो कट्टु खुस्केको पत्तै नपाएको हो कि अझै जनतालाई पङ्गु बनाउन सकिन्छ भन्ने सोच मै छन्। अनि उसैको सूचनालाई आधार मानेर अन्य साना मिडियाहरू पनि आफ्नो रोटी सेकिरहेका छन ।