स्वर्गद्वारी गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी संस्थान ऐन, २०३३’ संशोधन गरेरै भए पनि ‘स्वर्गद्वारी गुठीपीडित किसान’ को समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन्।

प्रतिनिधिसभाको ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति’ को बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले ऐन संशोधनको ‘ड्राफ्ट’ तयार भइसकेको बताए। “स्वर्गद्वारी गुठीलगायत भूमिसँग सम्बन्धित समस्या समाधानका लागि भूमिसम्बन्धी अध्यादेश ल्याएको हो, तर संसद्मा पेस गर्ने वातावरण भएन, अब हामीले गुठी ऐनका बुँदाहरु संशोधन गरेर गुठीपीडितको समस्या समाधान गर्ने पक्षमा छौँ,” उनले भने। ‘गुठीपीडित किसान सङ्घर्ष समिति’ को नेतृत्वमा स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूले गत माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्। मन्त्री अधिकारीले बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्न ऐन बनाउनुपर्ने आवश्यकता औँल्याए।

सांसद भानुभक्त जोशीले सरकार छिटो परिवर्तन हुने भएकाले भूमि समस्या समाधान आयोगले तीव्र रुपमा काम गर्न नसकेको बताए। सांसद सूर्यप्रसाद ढकालले भूमिसम्बन्धी समस्यालाई सधैँका लागि समाधान गर्नेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *