गैर जिम्मेवार र उच्छृङ्खल अभिव्यक्ति
राजावादीहरूको जबरजस्त प्रदर्शनले स्वतन्त्रता र मुक्तिको मसिहा ठान्ने दल र तिनका मुखियाहरूलाई नीद हराम गराइदिएको छ । डेढ दशक अघि नै विस्थापित भएका राजा र राजावादीहरूको पुनरुत्थानको प्रयास वर्तमान नालायक शासकहरूको कारणबाट नै भएको हो । राज्यसत्ताको उत्पत्ति नै राजतन्त्रबाट भएको हो । शासन सञ्चालनलाई राज गर्नु भनेर संशोधन गरिने कारण पनि त्यही हो । तर समय क्रममा राजतन्त्र समाजको लागि बोझ बन्दै गयो । राजा महाराजाहरूको असंवैधानिक र हुकुमी शासनको विकल्प खोज्ने क्रममा गणतन्त्र अगाडि आयो ।
अहिले राजतन्त्रलाई मानिसलाई रैती बनाउने व्यवस्था र गणतन्त्रलाई नागरिकको स्तरमा उठाउने प्रणाली भनेर नेपालका केही बुद्धिजीवी भनिनेहरू व्याख्या गरिरहेका छन् । तर यथार्थमा त्यस्तो केही होइन । राजतन्त्रमा उदारता र लोकतन्त्र अकण्टक रूपले चलेका पनि थुप्रै उदाहरण छन् र गणतन्त्रमा जनता रैती मात्र होइन दासकै जीवन बाचेका दृष्टान्त पनि छन् । इदि अमित, वोकसा, हिट्लर देखि ज्याउलहकसम्म कुनै राजा थिएनन् । तिनीहरूको शासनमा समाज कसरी चल्थ्यो, नागरिक हकको ग्यारेन्टी थियो कि थिएन ? अनि बेल्जियम, बेलायत, जापान, नर्वे, स्पेन लगायतका राजतन्त्र भएका देशका नागरिकले स्वतन्त्रताको उपभोग नै गर्न पाएका छैनन् त ? राजतन्त्र र गणतन्त्र जे भने पनि विधिको शासन नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कानुनी राजलाई उपेक्षा गरेर गरिने शासन चाहे राजाले चलाएको होस वा चुनिएका राजाले त्यो जनविरोधी नै हुन्छ । कानुनी राजमा नेता उत्तरदायी हुनुपर्छ । जनताले उत्तर खोज्दा दिन सक्ने हैसियत शासक वर्गमा हुनुपर्छ । नेताले लम्फाजी गर्ने, विरोधीको मानमर्दन गर्ने, आफ्नो स्वार्थका लागि जे मन लाग्यो त्यही बोल्ने कुरालाई लोकतन्त्र मान्न सकिँदैन । तर राजावादीहरूले शक्ति प्रदर्शन गरेपछि प्रधानमन्त्री खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका अभिव्यक्तिले लोकतन्त्रकै धज्जी उडाइदिएको छ । पूर्व प्रधानमन्त्रीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दाजुको वंश नाश गर्ने, मुर्तिचोर र सुन तस्करी गर्ने भनेर आरोपित गरेका छन् । त्यसै गरी प्रधानमन्त्री खड्गप्रसादले कवितामा भाइ मारा र मुर्तिचोर भनेर आरोपित गरेका छन् ।
राजाको शक्ति बढेको देखेर त्यसलाई रोक्ने उद्देश्यले मात्र यस्ता आरोप लगाइनु लोकतन्त्रको चरम दुरुपयोग हो । राजतन्त्रको अन्त्य भएको डेड दशक नाघी सक्यो । राजदरबार हत्याकाण्डको साँडेदुई दशक बितिसक्यो । पूर्व राजालाई हत्यारा, चोर र तस्कर भन्नेहरू पटक पटक शक्तिशाली प्रधानमन्त्री बनिसके । अहिले पनि प्रधानमन्त्री नै रहेकाले कविता लेखेर, भाषण गरेर कसैलाई आरोपित गर्नु युक्तिसंगत हुँदैन । यदि पुर्वराजा दोषी भए कारबाही पो गर्नुपर्ने त । माओवादी जङ्गलमा हुँदा लागु औषध तस्करी मूर्ति चोरी, हत्या, बलात्कार, बैक डकैती जस्ता काम गरेर हतियार, रसद पानी आदिको प्रबन्ध गथ्र्यो भन्ने घाम जत्तिकै प्रष्ट्र छ । सुन तस्करीमा त प्रचण्डकै परिवारको संलग्नता पुष्टि भएको छ । वर्तमान प्रधानमन्त्री पनि अनेक हत्याकाण्ड र तस्करीसँग जोडिएका छन् । विद्रोही हुँदा मात्र होइन सत्तामा पुगेर पनि सत्ताकै दुरुपयोग गरी त्यस्ता अनुचित हर्कत गरेका छन् । अनि आफ्नो अपराध छोप्न अरूमाथि आरोप लगाउँदा जनताले पत्याउँछन् त ? यो राजतन्त्र कि गणतन्त्र भन्ने विवादसँग जोडिएको सवाल होइन । शासकहरू आफ्नो स्वार्थ पूर्तिका लागि कसरी अरूमाथि हिलो छ्याप्छन् र कुनै तथ्य र प्रमाण विना बोल्छन् भन्ने कुरा हो । यसले समाजलाई उत्तरदायी बाटो तर्फ अग्रसर गराउँदैन । आफू सत्तामा हुँदा तमाम अपराध गर्ने र सत्ताबाट बाहिरिए पछि अरूमाथि आरोप लगाउने कुरा मनासिब होइन ।
अहिले सरकार प्रमुखले कविता लेखेर कसैको चरित्रहत्या गर्ने होइन । प्रमाण जुटाएर कारबाही गर्ने हो । अराजकता, उत्तेजना, हिंसा र आततायी व्यवहार सत्तारुढ दल र प्रतिपक्षी दलका कार्यकर्ता बाटै भइरहेको छ । त्यसलाई रोकेर, भ्रष्टाचार नियन्त्रण गरेर, जनतालाई सुविधा दिएर नै राजाको पक्षमा जानेहरूको ध्यान लोकतान्त्रिक गणतन्त्र तर्फ खिच्न सकिन्छ । अब पूर्व राजा भाइ मारा, मुर्तिचोर भन्नु त आफ्नो कमजोरी उदाङ्ग देखाउनु मात्र हो ।