विद्यार्थी सङ्गठनले देखाउँदै छन् दलको चरित्र
काठमाडौँ । कुनै वेला मिनी जनमत सङ्ग्रह ठानिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई अहिले हुल्लडबाजीको अखडामा परिणत गराइएको छ । यस पटकको स्ववियु चुनावले त युनियनको औचित्यमाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । देशका ठुला र प्रतिष्ठित क्याम्पसहरूमा निर्वाचन नै हुन नसक्नुले पनि त्यसको अस्तित्व माथि प्रश्न चिन्ह उठेको हो ।
केन्द्रीय क्याम्पस कीर्तिपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, त्रिचन्द्र बहुमुखी क्याम्पस, अम्रित साइन्स क्याम्पस, सरस्वती क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्य, शङ्करदेव, नेपाल ल क्याम्पस विश्व भाषा क्याम्पस समेतका दर्जनौँ क्याम्पसमा विद्यार्थी सङ्गठनबिचको द्वन्द्वका कारण चुनाव हुन सकेको छैन । विद्यार्थी युनियनलाई दलीय राजनीतिक स्वार्थको औजारको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा यस्तो स्थिति उत्पन्न भएको हो । राजनीतिक दलका भातृ सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको उदाण्ड र उच्छृङ्खल व्यवहारले पञ्चायत कालिन मण्डलेलाई बिसाउन थालेको छ । अहिले विद्यार्थी सङ्गठनहरू दलको स्वार्थको अलावा आफ्नो गुजाराको लागि चन्दा आतङ्क सिर्जना गर्ने, गैर कानुनी धन्धा चलाउने र पुलिस प्रशासनलाई तर्साउने, शान्ति सुरक्षामा खलल पु¥याउने काम गर्दै आएका छन् ।
विद्यार्थी सङ्गठनहरूमा राजनीतिक दलको चरित्रकै प्रतिछाँया प्रतिविम्ब भएका कारण तिनले विगतको गौरवको रक्षा गर्न मात्र नसकेका होइनन् बदनामी समेत कमाउने घटना घटाइरहेका छन् । ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने, आफैलाई पढाउने प्राध्यापकलाई घातक रूपमा हमला गर्ने, गुटगुटवीच हिंसात्मक द्वन्द्व सिर्जना गर्ने, एउटा सङ्गठनले अर्कोको अस्तित्व नस्विकार्ने जस्ता घटनाले राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने नर्सरीको रूपमा हेरिएका विद्यार्थी सङ्गठनहरू कुन दिशातर्फ अग्रसर छन् र कस्ता राजनीतिक बिरुवा उत्पादन गर्छन् भन्ने स्पष्ट सङ्केत दिएका छन् । अहिले युवा कार्यकर्ताको परिपूर्ति गर्ने गरेका विद्यार्थी सङ्गठनहरू नै अनुशासनहीन, अराजक र उद्दण्ड क्रियाकलापको केन्द्रको रूपमा रहेका छन् । सङ्गठित गुण्डागर्दीको अखडाका रूपमा रहेका दलका भातृ सङ्गठनहरू राजनीतिक दल भूमिगत भएको वेलाको जस्तो छविको कल्पना त गर्दछन् तर चरित्र र व्यवहार त्यस अनुरूप छैन । व्यवहार र चरित्रका हिसाबले पतनको पराकाष्ठामा पुगेकाहरू नै दलका भविष्यका नेताको रूपमा हेरिनुले मुलुकको राजनीतिक भविष्य कस्तो होला भनेर सहजै कल्पना गर्न सकिन्छ । नेताको चाकडी गरेर अवसर हात पार्ने, चुनावमा टिकट पाउने, राजनीतिक नियुक्ति बजाउने मात्र उद्देश्य बोकेका भातृ सङ्गठनका नेताहरूले पनि राजनीतिक विकृति बढाएका छन् । अराजकता र अन्योलको अखडा बनेका विद्यार्थी सङ्गठनहरू सुचारु ढङ्गले सञ्चालन समेत भएका छैनन् । यस्तो स्थितिमा युनियनको नियमित निर्वाचन हुनुलाई नै ठुलो उपलब्धि मानिएको छ ।
चुनावले के परिणाम दिन्छ भन्नु भन्दा पनि यसलाई लोकतान्त्रिक अभ्यासको थलोको रूपमा विकास गराएर स्वच्छ र मर्यादित प्रतिस्पर्धी गर्ने अवसरको रूपमा लिनु पर्ने हो । तर अहिले युवा पुस्ता कति असहिष्णु कति अराजक र अनुशासनहीन छ भन्ने कुरा यो चुनावले देखाएको छ। देशको सर्वाधिक विद्यार्थी सङ्ख्या रहेको त्रिभुवन विश्व विद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त झन्डै पन्ध्र सय क्याम्पसमा चुनाव हुनुपर्नेमा धेरै विद्यार्थी सङ्ख्या भएका र प्रतिष्ठित क्याम्पसमा चाहिँ चुनाव रोकिएको छ । चुनाव रोकिनुको कारण पनि विद्यार्थी सङ्गठनहरूकै कारणले हो । शिक्षाको पवित्र थलो क्याम्पसलाई हत्या हिंसाको अखडामा परिणत गराउने प्रयासमा राजनीतिक दल र तिनका भातृ सङ्गठनहरू लामो कालदेखि लागि रहेका छन् । चुनाव त्यसको पराकाष्ठाको रूपमा रहने गरेको छ, जुन कुरा यस पटक पनि देखिएको छ । चुनाव भएको क्याम्पसहरूमा कसले जित्यो, कति भोट पायो भन्ने कुराले यस पटक त्यति महत्त्व राख्ने अवस्थै भएन । पञ्चायत कालमा पनि प्रजातन्त्रको अभ्यास गर्ने मञ्चको रूपमा प्रयोग गरिएको स्ववियुलाई अहिले कसरी हिंसाको अखडामा परिणत गरियो भन्ने कुरालाई महत्त्व दिएर अध्ययन गर्नुपर्ने भएको छ । चुनाव त पञ्चायत कालमा पनि हुन्थ्यो तर त्यस वेला निर्विवाद सुचारु रूपमा चुनाव सम्पन्न हुन्थ्यो ।
विद्यार्थी सङ्गठनहरूको सहभागिता त्यस वेला संस्थागत रूपमा हुनुन्थ्यो र पनि व्यवहार संस्थागत नै थियो । अहिले सङ्गठन नै दर्ता गराएर संस्थागत हिसाबले सहभागिता जनाउँदा पनि व्यवहारमा अराजकताले धर गरेको छ । अहिले समग्र राजनीति सुधार्न सब भन्दा पहिले दलहरूले आफ्नो चरित्र सुधार्नु पर्छ । त्यसपछि पार्टी र कार्यकर्तामा सुधारको अभियान चलाउनु आवश्यक पर्छ । त्यसो गर्दा विद्यार्थीबाटै सुधारको अभियान थाल्नु जरुरी छ । सङ्ख्याको हिसाबले हेर्दा अहिले पनि काँग्रेस एक नम्बरमै छ । वर्तमान निर्वाचनमा पनि काँग्रेस भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ एक नम्बरमा छ । दुई नम्बरमा नेकपा एमालेको अखिल र तीन नम्बरमा माओवादीको अखिल क्रान्तिकारी छ । सारा संसार थर्काउने गरी आन्दोलनको उद्घोष गर्ने राजावादीको भने यो निर्वाचनमा उपस्थिति शून्य छ । माओवादीले आफ्नो अवस्थालाई केही सुधार गरेको देखिए पनि ठुला दल काँग्रेस र एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति देखिँदैन । ठुला दलले अझैँ आफूलाई सुधारेर जाने अवसर छ । तर अवस्था अति क्रिटिकल छ । काँग्रेस एमालेले आफूलाई सुधारेर जाने प्रतिबद्धता गरे भने कुनै पनि वादीले तिनलाई हल्लाउन सक्दैन तर सुधार गर्नुपर्ने दलहरू नै त्यसो गर्न तत्पर देखिएका छैनन् । अहिले दलहरूको प्रत्यक्ष हस्तक्षेप र निरङ्कुश निर्देशनबाट मुक्त कुनै निकाय बाँकी छैन ।
नेपाल वार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ जस्ता संस्थालाई त छोडेनन् भने आफ्नै मुठीभित्रका जस्ता बनाइएका विद्यार्थी युनियनलाई छोड्लान् त ? तर विद्यार्थी युनियन र अन्य स्वतन्त्र र स्वायत्त संस्थालाई तिनको अस्तित्व मेटाउने गरी गरिने हस्तक्षेप प्रत्युत्पादक हुनसक्छ । त्यसमा विचार गरेर नै विद्यार्थी सङ्गठन माथि दलहरूले लगाम लगाउनु जरुरी छ । विद्यार्थी सङ्गठन नसुध्रिए पार्टी पनि सुध्रँदैनन् भन्ने कुरा भने बिर्सनु हुँदैन ।