२०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा छैन- प्रचण्ड
पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू २०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन् ।
सुशासनको पक्षमा काम गर्दा कांग्रेस र एमाले मिलेर सरकारबाट हटाएको भन्दै अब ०८४ को निर्वाचनसम्म जनतामाँझ रहने र सरकारमा नजाने प्रचण्डको दाबी छ । शुक्रबार पर्सामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको पनि स्मरण गराए । माओवादी सत्तामा हुँदा एउटा कुरा गर्ने र बाहिर जाँदा अर्को कुरा गर्ने पार्टी नभएको पनि प्रचण्डको भनाई छ ।
उनले आफूलाई भ्रष्टहरुले मिलेर सरकारबाट हटाएको र कांग्रेस र एमोललाई सरकारको नेतृत्वमा स्थापित गराएको गम्भीर आरोप पनि लगाएका थिए । माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान आज पर्सा जिल्ला पुगेको छ ।