पीएन क्याम्पसमा अनेरास्ववियुको पोखरेल प्यानलै विजयी

पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ । अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमासमेत उम्मेदवारी परेको थियो । तर, ती सबै सम्भावना र आंकलनलाई परास्त गर्दै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेर विरासतलाई कायमै राखेको हो । पोखरेल भारी मतान्तरले विजयी हुँदा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ प्रतिस्पर्धाको निकटसम्म पुग्न सकेन भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपाने पनि पोखरेलाई नजिकै पुगेर पछ्याउन सकिनन् । समाजवादी मोर्चा, माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारी त पृथ्वीनारायण क्याम्पसमा धेरै पछाडि पर्‍यो । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी भएका हुन् । पोखरेलले एक हजार १०५ मत ल्याउँदा नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए । अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए । माओवादीनिकट क्रान्तिकारीको एउटा समूहसमेत यो मोर्चामा हुँदा पनि यति कमजोर मत आएको हो । अखिल छैटौंका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत ल्याएका थिए ।पोखरेल नेतृत्वमा सचिवमा विराज दुवाडी अझै लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले १ हजार ४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए । कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १ हजार ३०४ मतका साथ विजयी भइन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । परिचय पत्र लैजाने विद्यार्थीको संख्यामध्ये जम्मा ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका हुन् । अहिले पृथ्वीनारायण क्याम्पसको इतिहासमै सबैभन्दा कम मत खसेको हो । झण्डै एकतिहाइ विद्यार्थी निर्वाचनमै सहभागी भएनन् । कुल मतदातामध्ये यति थोरै मत खसेर जित्नु नैतिक हिसाबले प्रश्न उठ्ने भए पनि खसेको मतलाई नै आधार बनाएर जित कायम हुने नेताहरुको भनाइ थियो । पृथ्वीनारायण क्याम्पसलाई नेता उत्पादन गर्ने क्याम्पसको रुपमा लिने गरिन्छ । यहाँबाट विजयी अधिकांश स्ववियु सभापति एमालेभित्र विभिन्न पदमा पुगेका छन् । पूर्वप्रदेश प्रमुखसमेत रहेकासोमनाथ प्यासी, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी, पोखराका मेयर धनराज आचार्य, राजनीतिक विश्लेषक झलक सुवेदी, भुक्त गुरुङ, नेता राजीव पहारी, पुष्पज्योति ढुंगानालगायत पृथ्वीनारायण क्याम्पसमै स्ववियु सभापति भएकाहरु हुन् । क्याम्पसको सुरुआती कालखण्डमा सर्वसम्मतबाहेक अहिलेसम्म भएका निर्वाचनमा अनेरास्ववियुबाहेक अरुले जितको स्वाद चाख्नै नपाएको पूर्वप्रदेश प्रमुखसमेत रहेका पूर्वस्ववियु सभापति सोमनाथ प्यासी बताउँछन् । स्ववियुमा विजयी पोखरेल यसअघि पनि सभापतिको उम्मेदवार थिए । तर, विवादका कारण चुनाव हुन सकेको थिएन । पोखरेल अनेरास्ववियु आन्दोलनमा अग्रपंक्तिमा रहने विद्यार्थी हुन् । उनले विजयी भएपछि १६ वर्षपछि भएको निर्वाचनले स्ववियुलाई जीवन दिएको र अब सबै विद्यार्थीको साझा संस्था बनाउने प्रतिवद्धता गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *