डरलाग्दो सङ्कटको सङ्केत

राजसंस्थावादी र दलहरू आमुन्ने सामुन्ने

काठमाडौँ । गणतन्त्र स्थापनाको सोह्र वर्षपछि नेपाललाई फेरि एक पटक राजतन्त्रको भूतले नराम्ररी तर्साएको छ । दुई साता अघि पुर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ आउँदा गरिएको स्वागतमा उपस्थित जनसमूहबाट त्रसित दलहरूको सातो अझै फर्किएको छैन ।

अहिलेको बेथिति, विसङ्गति र अस्तव्यस्तताका सूत्रधार दल र तिनका नेताले पुर्वराजाको बढ्दै गएको लोकप्रियतालाई पचाउन सकेका छैनन् । पुर्वराजाको पक्षमा देखिएको जनमत झन् बढ्दै गएको छ । पुर्वराजाको गोरखा यात्रासँगै राजसंस्थाका पक्षपातीहरूले नारायणहिटी राजदरबार अगाडि समेत प्रदर्शन थालेका छन् । राजसंस्था चाहिन्छ भन्नेहरूबिच मनोमालिन्य र होडबाजीका कारण आउने अवरोधलाई छाड्ने हो भने अहिले जनमत वृद्धि र लोकप्रियताको हिसाबले नेपालमा राजतन्त्रको पुनरावृत्ति असम्भव देखिँदैन । पुर्वसभामुख एवं प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले आफूले अत्यन्तै महत्त्वपूर्ण संवैधानिक अङ्गका प्रमुखसँग गरेको कुराकानीको प्रसङ्ग उठाउँदै जे पनि हुन सक्ने स्थिति रहेको दाबी गरेका छन् । अहिले अब के हुन्छ भन्ने जिज्ञासा र अन्योलले सम्पूर्ण राष्ट्रलाई सताएको छ । माओवादी अध्यक्ष प्रचण्ड प्र म एवं एमाले अध्यक्ष खड्ग ओली र माधव नेपालहरू केही हुँदैन भनेर ढुक्क जस्तो देखिए पनि यथार्थमा यस्तै हुन्छ भन्ने स्थिति छैन । राजा खुल्लमखुल्ला मैदानमा आए भने दलहरूको प्रतिरोधले डरलाग्दो रक्तपातको सिर्जना गर्न सक्ने सम्भावना पनि छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तटस्थ मात्रै रहे भने देशमा ठुलो उथलपुथलकारी घटना हुने सम्भावना टड्कारो देखिएको छ ।

अहिलेको अवस्थाले नेपाली सेनालाई समेत विवादमा तानेको छ । र, त्यसलाई वक्तव्यबाजीमा उतारेको छ । कदाचित सेना र प्रहरीले सरकारको आदेशको अवज्ञा गरे भने स्थिति अझै अकल्पनीय रूपले भयावह बन्न सक्छ । त्यसमा ध्युतेल थप्नेहरूको कुनै कमी छैन । नेपालको उन्नति नचाहने, शान्ति भङ्ग गराउन खोज्ने र देशलाई कमजोर र गरिब नै राखेर स्वार्थ सिद्धि गर्न चाहने शक्ति संसार भरिनै छन् । तिनले हिंसा भड्काउन सारा शक्ति लगाउने छन् । दश बर्षे माओवादी हिंसालाई वाकेर हिड्नेहरुले यो अवसर गुमाउलान् भन्ने ठान्नु भुल हुनेछ । विदेशी शक्तिको आड भरोसा नभई नेपालमा कोतपर्व यता कुनै पनि परिवर्तन भएका छैनन् । ००७ साल, ०१७ साल, ०३६ साल, ०४६ साल र ०६२/६३ सालका राजनीतिक परिवर्तनमा विदेशी शक्ति नै हाबी भएको यथार्थलाई बिर्सन मिल्दैन । यदि पुर्वराजाले गोरखनाथ मठमा भने जस्तो कोहीसँग डराउनु नपर्ने अवस्था आयो भने आमेन सामने हुने दुवै पक्ष नडराउँदाको परिणाम के हुन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । राजसंस्था समर्थक र दलहरू आमेन सामने हुँदा राष्ट्रलाई हुने क्षतिको आङ्कलन गर्ने अवस्था अहिले नै नरहे पनि त्यस्तो अवस्थामा राष्ट्रको अस्तित्व भने खतरामा पर्ने निश्चित छ । पुर्वराजाले सबैको नियत सफा हुनुपर्ने र शान्ति कायम गर्नुपर्ने कुरा उठाएर दलहरूको नियत र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको तर्फ सङ्केत गरेका छन् । र यथार्थ त्यही पनि हो । अहिले नेपाली जनताको ठुलो पङ्क्ति निराश छ ।

विदेश पलायनको प्रवृत्ति बढ्नुमा त्यही निराशाले काम गरेको छ । कुण्ठा र निराशासँगै एउटा पङ्क्ति आक्रोशित र उत्तेजित पनि छ । त्यो पङ्क्ति अहिले पूर्व राजा सक्रिय भएको र मैदानमा देखिएकोमा खुसी छ । राजालाई लिएर अनेक टिप्पणी गर्ने र राजा आए सारा जनता रैती हुन्छन् भन्ने प्रचार पनि व्यापक बनाइएको छ । तर यथार्थमा जनता अहिले रैती मात्र होइन दासको जीवन बाच्न बाध्य पारिएका छन् । कानुनी राजको धज्जी उडाइएको छ । नेता तन्त्रको पराकाष्ठाले गर्दा जनतामा आक्रोशको ज्वालामुखी फुट्नै लागेको हो । यो वास्तविकतालाई वर्तमान सत्ताधारी अर्थात् सरकार र प्रतिपक्षी दलले बुझ्न नसक्नु भने आश्चर्यको विषय भएको छ । जनतालाई भ्रममा राख्न र राजा भनेका लोकतन्त्रका हत्यारा हुन भन्ने प्रचारमा सारा शक्ति लगाउनेले के बिर्सेका छन् भन्ने कुनै पनि तन्त्र निरपेक्ष हुँदैन । ज्याउला हक, इदिअमिन, वोकसा कुनै राजा थिएनन् तर यहाँ जनताको हैसियत के थियो ? हिट्लर त चुनिएर नै शासन सत्तामा पुगेका थिए तर उनले के गरे ?

अहिले बेलायतको राष्ट्र प्रमुख मान्ने राजालाई कि राष्ट्रपतिको चुनाव गर्ने भनेर जनमत सङ्ग्रह गर्दा अस्ट्रेलियाले किन बेलायतकै राजालाई राष्ट्रप्रमुख मान्ने पक्षमा अभिमत दियो ? बेलायत, बेल्जियम, स्पेन नर्वे, जापान, थाइल्यान्ड जस्ता राजतन्त्र भएका देश के नेपाल, पाकिस्तान, लिविया जस्ता गणतन्त्र भएका भन्दा पछि छन् त्यहाँका जनता स्वतन्त्र र नागरिक हैसियतका छैनन् ? यस्ता बकम्फुसे तर्क गरेर आफ्नो औकात देखाउन खोज्नेहरूले बुझ्नुपर्छ । राजा वा चुनिएको राष्ट्रपति त एउटा बहाना मात्र हो, मुख्य कुरा त राम्रो नियत राख्ने, योग्य राष्ट्रप्रमुख रहँदा नै देशमा स्थायित्व र शान्ति कायम हुनसक्छ । राजनीतिक दल र राजसंस्थावादी दुवैले यति वेला अतिवादी कोणबाट समस्यालाई हेरिरहेका छन् । यसरी मुलुक झन् गंभिर सङ्कटमा फस्छ । अहिले दुवै पक्षले धैर्य र संयमले काम गर्नुपर्ने अवस्था छ । अति सर्वत्र बर्जयेत भने झैँ दुवै पक्षको मुखर्तापुर्ण कदमले देशलाई दुर्घटनामा धकेल्ने सम्भावना छ ।

यो देश र जनताका लागि हितकारी उपाय होइन यो राजनीतिक दुरदर्शीता पनि होइन । दूरदर्शी नेताको अभाव यति वेला खट्किएको छ । नेपाली जतालाई यो द्वन्द्व कागलाई बेल जस्तो भएको छ । जनतालाई कुनै नाफा घाटा नहुने द्धन्द्धलाई टार्नु नै उपयुक्त हुन्छ । नेताहरू र राजा र राजसंस्था बादी हरूले यो कुरालाई हेक्का राख्नु जरुरी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *