पाल्पामा चैते धान रोपाइँको चटारो
पाल्पा। आलु, गहुँलगायत बाली भित्र्याएपछि पाल्पाका किसानलाई यतिबेला चैते धान रोपाइँको चटारो थपिएको छ।
यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान चैते धान रोपाइँमा व्यस्त छन्। पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु र डढेटाका सोमबहादुर थापाजस्ता किसानहरू चैते धान रोप्न व्यस्त छन्। पानीको सुविधा र राम्रो उत्पादन हुने भएकाले यहाँका किसानहरूले वर्षौंदेखि चैते धान रोप्दै आएका छन्। यहाँका डढेटा, लाबे, सातबिसे, खैरेनी, आठबिसे, कलौली, चेवा मङ्गला, सुखौरा लगायतका फाँटका किसानहरूलाई यतिबेला भ्याइनभ्याइ छ। महिलाहरू बीउ काँढ्न र रोप्न व्यस्त छन् भने पुरुषहरू खेत हिलाउन र आली गरा मिलाउन व्यस्त छन्।
सिँचाइ सुविधा भएकाले यहाँ चैत र बर्खा गरी दुईपटक धान रोप्ने चलन छ। यहाँ फागुनमा बीउ राखेर चैतमा धान रोप्ने प्रचलन छ। पूर्वखोलामा १५ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुने गरेको छ। पालिकाले बीउविजन, मल र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। बाँझो जग्गाको सदुपयोग गर्ने गरी किसानलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याउने गरेको छ।
जिल्लामा ६२० हेक्टरमा चैते धानको खेती गरिन्छ र ७०० किसानले चैते धान लगाउँदै आएका छन्।