नेपाल चेम्बर ७५ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले भने, आज हामीले ७५ औं वर्षमा प्रवेश गरेका छौं । यो अवसरमा हामी खुसी छौं । नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको स्थायित्वको लागि चेम्बरले सधैं साथमै रहेको छ । उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स.२००७ सालमा आश्विन २७ गते भएको थियो । नेपाल चेम्बर प्रजातन्त्रसङ्गै स्थापित भएको हो । विसं २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाइमा भएको थियो । निवर्तमान अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रूपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित भएर लागि रहेको दाबी गरे । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि बताए । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गरेको छ । देशमा रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरेको छ । देशभरका उद्योगी तथा व्यवसायीहरूको सहभागिता भएको नेपाल चेम्बर अफ कमर्सको विधान मन्त्रिपरिषदबाट २०७४ सालमा संशोधन भएको थियो भने तदनुरूप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा राष्ट्रिय संघ संस्थाहरूसम्म सदस्यहरू बिस्तार भएको छ । हाल ७ वटा प्रदेशका ६८ वटा जिल्ला चेम्बर गठन भैसकेको निवर्तमान अध्यक्ष मल्लले जानकारी दिए।