राजतन्त्रबारे स्पष्ट धारणा सार्वजनिक गर्न रास्वपालाई कार्यकर्ताको दबाब
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजतन्त्रको विषयमा पार्टीको स्पष्ट नीति माग गर्दै नेताहरू र कार्यकर्ताहरूले आन्तरिक दबाब दिन थालेका छन् ।
राजसंस्थासम्बन्धी अभिव्यक्तिहरू सार्वजनिक भइरहँदा रास्वपाले अझै औपचारिक धारणा नबुझाएको भन्दै असमझदारी बढेको छ। पछिल्लो समय रास्वपाका कतिपय नेताहरूले राजतन्त्र पक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सामाजिक सञ्जालमा राजसंस्थाको खुलेर समर्थन गरेपछि पार्टीभित्र तरंग छाएको हो। तर, पार्टीले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। एक नेताले भने, “पार्टी भित्रै दुई धार छ — केही गणतन्त्रप्रति समर्पित, केही राजसंस्थाप्रति झुकेका। तर पार्टी मौन बस्दा हामी कार्यकर्तालाई अप्ठ्यारो भएको छ।”
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने पार्टीको आधिकारिक लाइन लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै यसमा अलमल नभएको दाबी गरे। यद्यपि उनले पाठकको अभिव्यक्ति हेरेपछि मात्र प्रतिक्रिया दिने बताएका छन्। नेतृ सोबिता गौतम र प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी गणतन्त्रप्रति स्पष्ट रहेको बताएका छन्। तर, कार्यकर्ताहरू भने शीर्ष नेतृत्वको मौनता र दोहोरो व्यवहारप्रति असन्तुष्ट देखिन्छन्।
विपक्षी दलहरूका बैठकमा समेत रास्वपाको नीति अस्पष्ट भएको टिप्पणी हुने गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले समेत रास्वपाको धारणा के हो भनेर सोधेको प्रसंग सिंहदरबारको बैठकमा उठेको थियो।