चलचित्र ‘कार्की साइँला’ को शुभ मुहूर्त सम्पन्न
काठमाडौँ । नेपाली चलचित्र ‘कार्की साइँला’को शुभ मुहूर्त गरिएको छ ।
आज (सोमबार) काठमाडौको कोटेश्वरस्थित महादेवस्थान मन्दिर प्रांगणमा फिल्म निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरेको हो । यस चलचित्रको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा शिवाकोटी रहेका छन् भने चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गर्दैछन् । यस चलचित्र ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथामा आधारित रहने निर्माण टिमले जानकारी दिएको छ । भरिया बनेर गाउँलेका भारी बोकेर जीविकोपार्जन गर्ने एक पात्रकोे कथामा चलचित्र बनाउन लागेको निर्देशक राजेन्द्र बस्नेतले सत्याग्रह अनलाइनलाई जानकारी दिएका छन् ।
यस चलचित्रमा जितु र वर्षासहित अन्य कलाकारहरुमा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायत अन्य कलाकारहरु रहने छन् । चलचित्रको छायांकन यही वैशाख २० गतेदेखि धनकुटाको विभिन्न स्थानमा गरिने निर्माण टिमले जनाएको छ ।
कर्ण बहादुर फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् । त्यसैगरी निर्माताको रुपमा बालकुमार राई रहेका छन् । डम्बरबहादुर राईको छायांकन तथा उनकै कथा रहेको यस चलचित्रमा राजु किराँतीको द्वन्द्व निर्देशन, बाबुल गिरीको संगीत, कमल राईको नृत्य निर्देशन, जीवननाथ गौतमको मुख्य सहायक निर्देशन रहनेछ । त्यसैगरी चलचित्रको पटकथा तथा संवाद अजित लामिछानेले लेखेका हुन् ।



