नेपालमा पहिलो पटक ‘स्काइवेल पाइलट समिट’ सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक आयोजित स्काईवेल पाइलट समिट २०२५ भव्यताका साथ सम्पन्न भएको छ। यात्रा म्यागेजिनको आयोजनामा, पाइलट एसोसिएसन अफ नेपालका लागि आयोजना गरिएको उक्त समिटले हवाई सुरक्षामा पाइलटहरूको भूमिकाबारे गहिरो संवाद र विमर्शको अवसर प्रदान गर्यो । कार्यक्रमको प्यानल डिस्कसनमा क्याप्टेन विजय लामा मोडरेटरका रूपमा प्रस्तुत भए भने एटीसी सुस्मिता रावत, रिटायर्ड पाइलट क्याप्टेन रवि कंसाकार, पत्रकार सुरज कुँवर र पाइलट तथा पर्यटन व्यवसायी सुनिल शाक्य सहभागी थिए । समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै नेपाली आकाशलाई सुरक्षित बनाउने जिम्मेवारीमा पाइलटको भूमिका निर्णायक रहेको उल्लेख गरे । उनले पाइलट एसोसिएसनको औपचारिक गठनलाई नेपाली हवाई इतिहासको महत्वपूर्ण मोडको रूपमा व्याख्या गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले पाइलटहरूको एकता हवाई सुरक्षा अभिवृद्धिका लागि सहायक हुने विश्वास व्यक्त गर्दै राज्यका निकायहरू र पेशागत संघसंस्थाबीचको सहकार्य अझै मजबुत हुनुपर्ने बताए । समिटको अवसरमा पाइलट एसोसिएसन अफ नेपाल को औपचारिक घोषणा पनि गरियो । बुद्ध एअरका क्याप्टेन लेखनाथ पोख्रेल अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरियो । समिटको मुख्य प्रायोजक स्काईवेलका आधिकारिक आयातकर्ता जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले यस्ता समिटले दीर्घकालीन सहकार्यको ढोका खोल्ने बताए । समारोहमा २५० भन्दा बढी पाइलट र १०० भन्दा बढी पर्यटन तथा उड्डयन क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । समापन मन्तव्य क्याप्टेन किस्मत पछाईले दिँदै सबै सहयोगी र सहभागीहरूलाई धन्यवाद व्यक्त गरे । उनले भने, आउनुहोस्, हामी सबै मिलेर संघको मूल नारा ‘आकाशमा एकता, जमिनमा प्रगति’ साकार पारौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *