भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए
काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देश खुलाइएको छैन । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । नेपालको सरकारी निकायबाट भने यसबारे कुनै विवरण सार्वजनिक भएको छैन । जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ । भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ । त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो ।
आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् । दैनिक भाष्करका अनुसार मारिनेको संख्या २७ पुगेको छ । कतिपय मिडियाहरुले भने २६ जना मारिएको लेखेका छन् । यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए । मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यतिबेला साउदी अरब भ्रमणमा छन् । पर्यटकमाथि आतंकवादीले आक्रमण गरेको सूचना पाएपछि उनी भ्रमणका कार्यक्रम छोट्याएर स्वदेश फर्किन लागेको द हिन्दूले जनाएको छ ।