मनाङमा यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु
मनाङ । मनाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु भएको छ।
मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका विभिन्न जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि यहाँ आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयबाट जारी गरिएको नियम अनुसार, यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन गर्न अनुमति लिनुपर्ने हुन्छ। अनुमति प्राप्त भएपछि स्थानीय संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो क्षेत्रभित्र सङ्कलन पुर्जी प्रदान गर्दछ।
एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रका वनमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइनेछ। जिल्लाबाहिरका नागरिकलाई भने सम्बन्धित संरक्षण व्यवस्थापन समितिले अनुमति प्रदान गर्नेछ। यस वर्ष नार्पाभूमि क्षेत्रका लेकहरूमा जिल्लाभित्रका नागरिकलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छ, बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिइएको छैन। प्रमुख भुजेलले विकटता र सुरक्षा चुनौतीलाई ध्यानमा राखेर नार्पाभूमिमा बाह्य सङ्कलकलाई रोक लगाइएको स्पष्ट पारे। अन्य स्थानीय तहमा भने यार्सागुम्बा सङ्कलनको अनुमति खुला गरिएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले यार्सागुम्बा सङ्कलनको समय सुरु भएसँगै जिल्लाभित्र सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अप्रिय घटना हुन नदिन विशेष सतर्कता अपनाइएको उनको भनाइ छ। नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन सुरु भएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले जानकारी दिए। वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलनका लागि उपयुक्त समय मानिन्छ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यस वर्ष बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए। सुरक्षा चुनौतीलाई नै मुख्य कारण देखाउँदै उनले स्थानीयलाई मात्र सङ्कलन अनुमति दिइएको जानकारी दिए। नार्पाभूमिको नार र फू संरक्षित र निषेधित क्षेत्र भएकाले विगतमा जस्तो असुरक्षाको अवस्था सिर्जना नहोस् भनेर यो निर्णय लिइएको हो। जिल्लाका अन्य हिमाली भेगमा वैशाखदेखि र नार्पाभूमिमा जेठदेखि यार्सागुम्बा सङ्कलन गरिन्छ।
यार्सागुम्बा सङ्कलनकर्ताबाट खरिद गर्न आउने जिल्लाका व्यक्तिले प्रतिव्यक्ति रु २० हजार र जिल्लाबाहिरका खरिदकर्ताले रु ४० हजार दस्तुर संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई बुझाउनुपर्ने हुन्छ। रु ३५ हजारमा पुर्जी काटेपछि मात्र सङ्कलक लेकतर्फ जान पाउँछन्। मनाङका चार स्थानीय तहमध्ये धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ। मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्र यार्सागुम्बाका लागि प्रख्यात छन्।