पाकिस्तानविरुद्ध सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
काठमाडौं । भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य कारबाहीको बारेमा जानकारी गराएका छन् । वाशिंगट डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताएको छ । यो जानकारी विज्ञप्तिमार्फत दिइएको हो । यसैबीच, अमेरिकी विदेशमन्त्री रुबियोले भारत र पाकिस्तानको अवस्थाको निगरानी गरिरहेको बताएका छन् । सामाजिक संजाल एक्समा पोष्ट गर्दै निगरानी गरिरहेको बताएका हुन् ।
यसअघि, उनले वाशिंटन डिसीस्थित ह्वाइट हाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतको कारबाहीबारे मिडियाको प्रश्नको जवाफमा यसलाई दुःखद् र चाँडै समाप्त हुने आशा गरेको बताएका थिए । रुबियोले ट्रम्पको टिप्पणी दोहोर्याउँदै यो तत्काल समाधान हुने आशा व्यक्त गरे । उनले भारत र पाकिस्तानी नेतृत्वसँग शान्तिपूर्ण समाधानको लागि सम्पर्क जारी राख्ने पनि बताए । यसबाहेक संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारतले गरेको सीमा नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमा पार सैन्य कारबाहीबाट धेरै चिन्तित बनेको बताउँदै दुवै देशलाई संयम हुन अपिल गरेको उनका प्रवक्ताले बताएका छन् । गुटेरेसका प्रवक्ताले संयुक्त राष्ट्रसंघका महासचिव भारत र पाकिस्तानबीच बढ्दै गरेको सैन्य टकरावबाट धेरै चिन्तित र दुवै देशले अधिकतम संयम कायम राख्न आग्रह गरेका छन् । उनले विश्वले भारत–पाकिस्तानबीचको सैन्य टकरावको जोखिम व्यहोर्न नसक्ने उल्लेख गरेको बताए ।