कम्युनिष्टमा लासको राजनीतिको अध्याय समाप्त भएको हो ?
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमालेका एक जना अग्रपंतिका नेता प्रदीप नेपालको मृत्यु भएको छ । उनको मृत्यु र अन्तिम संस्कार पछि नेपाली वामपन्थी वृत्तमा एउटा नयाँ परम्परा सुरु हुने सङ्केत देखिएको छ । नेपाल अखिल नेपाल क्रान्तिकारी कोअर्डिशन केन्द्रको स्थापना कालदेखि नेकपा (माले), एमाले सभ्य सङ्गठन निर्माण र नेतृत्वकर्ताको भूमिकामा थिए । उनले पश्चिम लुम्बिनीदेखि पूर्वको इलामसम्म नेकपा (माले) को निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । साहित्य लेखनमा पनि उत्तिकै सक्रिय नेपालका दर्जन बढी कृति प्रकाशित छन् । गद्य विधामा कलम चलाउने नेपालले कथा र उपन्यासमा थुप्रै पुस्तक लेखेका छन् । नेपाल पछिल्लो कालखण्डमा राजनीतिबाट टाढा थिए । सुरुमा ब्रेन सम्बन्धी रोगबाट पीडित भएका उनी पछि बिर्सने रोग (डिमेन्सिया) ग्रस्त थिए । उनको मृत्युपछि नेपाली राजनीति खास गरेर वामपन्थी र्वत्तमा नयाँ परम्परा निर्माण हुने सङ्केत देखिएको छ । नेपालको मृत्युपछि उनको शवयात्रा पनि भएन । श्रद्धाञ्जली सभा र शवमा पार्टीको झन्डा ओढाउने जस्ता पार्टी सम्बद्ध केही कुनै कर्मकाण्ड भएनन् । नेपालले जीवनकालमै आफ्नो शवमा झन्डा ओढाउने, श्रद्धाञ्जलीका लागि कुनै पनि ठाउँमा राख्ने र शवयात्रा गर्ने काम नगर्नु भनेको भनेर त्यसका लागि उनको परिवारले मनाइ गरेका कारण ती काम नभएका हुन ।
पार्टी जीवनमा उनले आफ्ना प्रतिद्धन्द्धीलाई सिद्ध्याउन अनेक उचित अनुचित काम गरेका, तुच्छ बचन बोलेका र गलत काम समेत गरेका उदाहरण छन् । पछिल्लो कालमा स्वयम पार्टीबाट उपेक्षित बनेपछि चिढिएका कारण पार्टीसँग सम्बन्ध तोडेको देखाउन त्यस्तो घोषणा गरेका थिए । लासको राजनीति गर्न माहिर वामपन्थी दलहरूमा एमाले सबभन्दा अघि रहेको मानिन्छ । दाशढुंगा दुर्घटनामा उसले गरेको लासको राजनीतिको फल आज पनि उसले खादै छ । प्रदीप नेपाल मदन भण्डारी जीवराज आश्रितकै समकक्षी नेता थिए । र, उनको मृत्युमा धूमधामसँग मृत्यु उत्सव मनाउनु पथ्र्यो । तर पार्टी भित्रको प्रतिस्पर्धाका कारण पछि पारिएपछि चिढिएर उनले पार्टीसँग साइनो नै टुटाएपछि ती सबै केही भएनन् । एमाले राजनीतिक संस्कारमा सबभन्दा दरिद्र दल मानिन्छ । त्यो कुरा मनमोहन अधिकारीको दुर्घटना र मृत्यु प्रकरणमा पनि देखिएको थियो । मनमोहन अधिकारी २०५६ को निर्वाचनका क्रममा भाषण गर्दागर्दै ढलेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालमा भर्ना भएका अधिकारीलाई भेट्न उनका नातेदार र माले नेतृ साहना प्रधान, सिपी मैनाली, बामदेव गौतम आदि कसैलाई पनि जान दिइएन । उनको मृत्युपछि आयोजित शवयात्रामा सहभागी हुन लागेका ती नेतालाई एमाले युवा सङ्घका नेताहरूले साङ्घातिक आक्रमण समेत गरे । मनमोहनको मृत्युमा शव यात्रामा जान समेत नपाएकाहरू प्रदीप नेपालको मृत्युमा भने श्रद्धाञ्जली अर्पण गर्न, शोक वक्तव्य दिन र पार्टी कार्यालयमा शवलाई राखेर प्रचार गर्नबाट आफैँ वञ्चित भए । भनिन्छ माले नेताहरूलाई मनमोहनको शवयात्रामा आउन नदिन प्रदीप नेपालले नै कडा निर्देशन दिएका थिए । पार्टी सदस्य नै नरहेका गणेश पण्डितको शवमा झन्डा ओढाउने र पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने एमालेप्रति पुराना र प्रतिबद्ध कार्यकर्ताको धारणा कस्तो बन्दै गएको रहेछ भन्ने कुरा यस घटनाले प्रस्ट देखाएको छ ।
वामपन्थीहरू व्यक्ति पूजक रहने गरेका छन् । कम्युनिस्ट मेनिफोस्टोेका लेखक कार्ल माक्र्सको लन्डन स्थित हाई गेटको चिहान संसारभरिका कम्युनिष्टहरुको परमधाम हो । लेनिन, स्टालिन र माओका त लास नै सुरक्षित राखिएका थिए । पछि खुश्चेभले स्तालिनको लासलाई झिकेर सडकमा फाले र प्रतिशोध लिएका थिए भने माओ र लेनिनका शव अझै सुरक्षित छन् । दिल्लीमा मृत्यु भएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल को अस्तु नेपालमा ल्याउन ठुलै कसरत भएको थियो । जय गोविन्द साहको भारतको जयनगरमै दाहसंस्कार गरिएको थियो । चर्चित कम्युनिस्ट नेता निर्मल लामाको त मृत्युपछि पनि ताण्डव हर्कत गरियो । लामाले आफ्नो शवलाई श्रद्धाञ्जलीका लागि कुनै सार्वजनिक स्थानमा नराख्नु, शवयात्रा नगर्नु, मेरो नाममा प्रतिष्ठान आदि नखोल्नु, कुनै स्कुल कलेजको नाम मेरो नाममा नराख्नु, मेरो शालिक निर्माण नगर्नु भनेर मर्नुअघि स्पष्ट भनेका थिए तर जिउँदै पार्टीका सारा पद र जिम्मेवारी खोस्ने पार्टीले उनले नगर्नु भनेका सबै काम ग¥यो । अझ लासलाई टुँडिखेलमा राख्न नपाएकामा लामो समय विवाद चलाइयो ।
पार्टीलाई र नेताहरूलाई लाभ मिल्छ भने कम्युनिस्टहरू जिउँदो हुँदै वा मरेपछि पनि अनेक दुष्कर्म गर्छन् । तर पार्टीका आफ्ना प्रतिस्पर्धीलाई सिद्ध्याउन भने कुनै कसर बाँकी राख्दैनन् । यो कुरा नेपाली कम्युनिष्टहरुको हकमा मात्र होइन रुस, चीन र संसारभरिकै कम्युनिस्ट पार्टीमा लागु हुन्छ । नेपालमा पनि नेकपा माले र चौथो महाधिवेशन (अहिले माओवादी) मा यो कुरा बढी लागु हुन्छ । मोहन विक्रम कोप भाजनको सिकार भएका चौम नेताहरूको सुची लामै छ । मोहन वैद्य, बाबुराम समेत माओवादीबाट दर्जनौँलाई भिक्टिम बनाइएको छ । त्यसै गरी झापा काण्डदेखि आजसम्म माले एमालेमा सयौँलाई कोप भाजनको सिकार बनाइयो । त्यसमा सिपी मैनाली, मोहन चन्द्र अधिकारी, आरके मैनाली, गोविन्द न्यौपाने, मणिलाल राई, अशेश्वर यादव समेत छन् । वामपन्थीहरू आफ्नो स्वार्थका लागि जिउँदो वा मृत व्यक्तिको उपयोग त गर्छन् तर उसको क्षमता र योगदानको न जिउँदै न मरेपछि कहिल्यै कदर गर्दैनन् । यो कुरा हाम्रो कम्युनिस्ट आन्दोलनमा पनि स्पष्ट देखिन्छ ।